रुसका दुई ठूला तेल कम्पनीमाथि प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा

कार्तिक ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
रुसका दुई ठूला तेल कम्पनीमाथि प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा

काठमाडौं । अमेरिकाले रुसका दुई ठूला तेल कम्पनीमाथि प्रतिबन्ध घोषणा गरेको छ ।

रुस-युक्रेन युद्धविराम वार्तामा उल्लेख्य प्रगति नभइरहेको पृष्ठभूमिमा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले रुसी तेल कम्पनीहरु रोसनेफ्ट र लुकोइलमाथि प्रतिबन्धको घोषणा गर्नुभएको हो । यी दुई कम्पनीहरुले दैनिक ३१ लाख ब्यारेल तेल निर्यात गर्छन् ।

ओभल अफिसमा ट्रम्पले वार्ताका लागि आफूहरुले धेरै समय पर्खेको बताउँदै प्रतिवन्ध लगाउने समय आएको बताउनुभएको सीएनएनले जनाएको छ । रुस युद्ध रोक्न सहमत भए प्रतिबन्ध फिर्ता लिन सकिने ट्रम्पको भनाइ छ ।

अमेरिकी अधिकारीहरुले क्रेमलिनको युद्ध संयन्त्रका निम्ति यी दुई ठूला तेल कम्पनीहरुले आर्थिक सहायता गरिरहेको बताउँदै प्रतिबन्धले रुसी सरकारलाई अप्ठ्यारो पर्ने विश्वास राखेका छन् । अमेरिकी प्रतिबन्धले रोसनेफ्ट र लुकोइलसहित तिनका झण्डै तीन दर्जन सहायक कम्पनीहरूमा सिधा असर पर्नेछ ।

युरोपेली संघ–इयुले भने यसअघि नै रुसबाट इन्धन आयात बन्द गर्ने निर्णय गरिसकेको छ । सन् २०२८ को जनवरी १ देखि इयुले रूसबाट हुने सबै खाले इन्धन आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । रुसी तेल प्रमुख रुपमा भारत, चीन र टर्कीमा निर्यात हुने गर्छ । ट्रम्पले क्रेमलिनमाथि दबाब दिन रुसी तेल नकिन्न यी देशहरुलाई आग्रह गर्दै आउनुभएको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.