काठमाडौं । युगान्डाको एक प्रमुख राजमार्गमा सवारीसाधन आपसमा ठोक्किँदा ६३ जनाको मृत्यु भएको छ ।
युगान्डाको कम्पाला-गुलु राजमार्गमा दुई बससहित चार वटा सवारीसाधन ठोक्किँदा दुर्घटना भएको हो । एउटा लरी र कारलाई विपरीत दिशाबाट आइरहेका बसले ओभरटेक गर्ने क्रममा उक्त दुर्घटना भएको बताइएको छ । दुर्घटनामा अन्य दर्जनौं यात्रु घाइते भएका छन् । उत्तरी युगान्डाको गुलु शहर जाने क्रममा स्थानीय समयअनुसार बुधबार मध्यरातमा दुर्घटना भएको हो ।
युगान्डासहित पूर्वी अफ्रिकामा सडक दुर्घटना नियमितजस्तै हुने गरेको छ । युगान्डामा सन् २०२४ मा मात्रै सडक दुर्घटनामा ५ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।