काठमाडौं । जापानको प्रधानमन्त्रीमा सनेई ताकाइची निर्वाचित हुनुभएको छ । ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्न सफल हुनुभएको हो।
जापानका दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उहाँ प्रधानमन्त्री बन्नुभएको हो । ६४ वर्षीया उहाँ सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी एलडीपीकी सदस्य हुनुहुन्छ । उहाँ जापानमा आइरन लेडीको रुपमा परिचित हुनुहुन्छ ।
एलडीपीले पछिल्लो पाँच वर्षमा चौथो पटक नयाँ प्रधानमन्त्री चयन गरेको हो । यो पार्टीले पछिल्ला वर्षहरुमा धेरै घोटालाको आरोप खेप्दै आएको छ । नवनिर्वाचित प्रधानमन्त्री ताकाइचीलाई जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे निकट नेतृ मानिन्छ । यसअघि उहाँ मन्त्रीसमेत बनिसक्नुभएको छ । उहाँ टेलिभिजन प्रस्तोता र हेभी मेटल ड्रमरसमेत हुनुहुन्छ ।
नवनिर्वाचित प्रधानमन्त्री ताकाइचीलाई अर्थव्यवस्थालाई गति दिन, सत्तारुढ दललाई एकजुट गर्न र अमेरिका-जापानबीचको सम्बन्धलाई सुधार गर्न चुनौती छन् ।