काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पविरूद्ध अमेरिकाका कैयौं सहरमा हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन् ।
ट्रम्पविरूद्ध राजधानी वाशिंगटन डीसी, न्यूयोर्क, शिकागो, मियामी र लस एन्जलसलगायतका सहरहरूमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले ‘डेमोक्रेसी नट मोनार्की’ अर्थात् लोकतन्त्र राजतन्त्र होइन, संविधान वैकल्पिक होइन लगायतका नारा लेखेका पम्प्लेटहरू बोकेका छन् ।
यता ट्रम्पका समर्थकहरूले भने प्रदर्शनकारीहरूको सम्बन्ध अति वामपन्थी संगठन एन्टिफासँग जोडिएको आरोप लगाएका छन् । प्रहरीका अनुसार अमेरिकाभित्रै प्रदर्शनमा लाखौं मानिस सहभागी छन् । न्यूयोर्कका मात्र पाँच ठाउँमा भएको विरोधमा एक लाखभन्दा बढी प्रदर्शनकारी सहभागी छन् ।
ट्रम्पले राष्ट्रपति पदको दुरूपयोग गरेको प्रदर्शनकारीको आरोप छ । कयौं सहरहरूमा गभर्नरको स्वीकृतिबिना नै नेशनल गार्ड्स तैनाथ गरिएका छन् । अमेरिका मात्रै होइन युरोपका कयौं ठूला सहरमा पनि ट्रम्पविरूद्ध विरोध प्रदर्शन भइरहेका छन् ।
बेलायतको लन्डन, इटालीको रोम, क्यानडाको टोरन्टो, जर्मनीको बर्लिन लगायतका ठाउँमा प्रदर्शन भइरहेका छन् ।