सांस्कृतिक उत्सवका रूपमा देशभर मनाइयो नेपाल संवत्‌को नयाँ वर्ष

कार्तिक ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सांस्कृतिक उत्सवका रूपमा देशभर मनाइयो नेपाल संवत्‌को नयाँ वर्ष

काठमाडौं । नेपाल संवत् ११४६ बुधबार देशभर विविध कार्यक्रम गरी मनाइएको छ । 

यस संवत्‌लाई नेवार समुदायले नयाँ वर्ष भिन्तुना दु भिन्तुना भन्दै साँस्कृतिक उत्सवका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ अर्थात् इसं ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरूआत गराउनुभएको थियो । 

गरिब जनता दासत्वबाट मुक्ति पाएको खुसियालीमा नेपाल संवत्‌को नयाँ वर्षको पहिलो दिन भिन्तुना र्याली निकालेर मनाइने चलन छ । काठमाडौंमा नेवार समुदायले निकालेको परम्परागत भेषभुषा तथा झाँकी सहितको र्यालीले सहर परिक्रमा गरेको थियो । त्यसक्रममा परम्परागत बाजाहरूका तालमा नाच्दै गाउँदै खुसी साटासाट गरिएको थियो ।

नेपाल संवत्‌का अवसरमा ललितपुर तथा भक्तपुरको मध्यपुर लगायतका ठाउँहरूमा पनि साँस्कृतिक र्याली निकाली शुभकामना आदान प्रदान गरिएको छ । नेवाः समुदायले नेपाल संवत्‌लाई सरकारी कामकाज तथा नोटमा समेत प्रचलनमा ल्याउन माग गर्दै आएका छन् । 

भक्तपुरको मध्यपुर थिमिमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाउनुभयो । नेपाल संवत्‌लाई नयाँ वर्षका रूपमा उपत्यका बाहिर बनेपा, धुलिखेल, बाह्रबिसे, संखुवासभा, धाादिङ्ग, दोलखा लगायतमा क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरूपमा मनाउने गर्छन् । 

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५६ सालमा शंखधर साःख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्‌ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.