काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको शान्ति योजना कार्यान्वयनका लागि इजरायल र हमासबीच अनौपचारिक वार्ता साेमबार इजिप्टमा हुँदैछ ।
राष्ट्रपति ट्रम्पले प्रस्तुत गरेको २० बुँदे शान्ति योजना कार्यान्वयनका लागि दुवै पक्षबीच साेमबार वार्ता हुन लागेको हो । हमास वार्ता टोलीको नेतृत्व खलिल अल-हाय्याले गर्ने जनाइएको छ। खलिललाई गत महिना इजरायलले कतार आक्रमणका क्रममा हत्या गर्ने प्रयास गरेको थियो ।
अनौपचारिक वार्ताअघि हमास, कतार र इजिप्टबीच कायरोमा तयारी बैठक हुनेछ । यो बैठकमा ट्रम्पको प्रस्ताव कार्यान्वयनका लागि निर्माण गरिने संयन्त्रबारे छलफल हुने एक वरिष्ठ प्यालेस्टिनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
२ वर्ष लामो युद्ध अन्त्यका लागि ट्रम्पले प्रस्ताव गरेको शान्ति योजनामा हमासको निशस्त्रीकरण, मृत तथा जीवित सबै इजरायली बन्धकको रिहाइ तथा गाजाबाट सबै इजरायली सेना फिर्तिको विषय समावेश छन् । तर, हमासले बन्धक रिहाइको विषयमा सहमति जनाए पनि सबै प्रस्ताव स्वीकार गरिसकेको छैन ।
अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै पक्षलाई चाँडो सहमतिमा पुग्न दबाब दिइरहनुभएको छ । आइतबार राति उहाँले सहमतिको पहिलो चरण यसैसाता पूर्ण हुनुपर्ने बताउनुभएको छ ।