बन्धक रिहाइ घोषणा केही दिनभित्रै हुने नेतन्याहूको भनाइ, इजरायल र हमासबीचको युद्धविराम वार्ता इजिप्टमा हुने

आश्विन १९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
बन्धक रिहाइ घोषणा केही दिनभित्रै हुने नेतन्याहूको भनाइ, इजरायल र हमासबीचको युद्धविराम वार्ता इजिप्टमा हुने

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा बन्धक बनाइएकाहरूको रिहाइ घोषणा आगामी केही दिनभित्रै हुने आशा व्यक्त गर्नुभएको छ ।

एक टेलिभिजन वक्तव्यमा नेतन्याहूले सजिलो या गाह्रो तरिकाले हमासलाई निशस्त्र बनाइने र गाजालाई निशस्त्रीकरण गरिने चेतावनी पनि दिनुभएको छ । हमासले अमेरिकी शान्ति योजनाअन्तर्गत बन्धक रिहा गर्न सहमति जनाएपछि नेतन्याहूको यो भनाइ आएको हो । तर, हमासले निशस्त्रीकरणको कुरा उल्लेख गरेको छैन भने अन्य विषयमा वार्ताको प्रस्ताव गरेको छ । 

हमासले गाजामा आक्रमण गरेर नरसंहार जारी राखेको आरोप लगाउँदै इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न आग्रह गरेको छ । दुबै पक्षबीचको अनौपचारिक युद्धविराम वार्ता भने सोमबार इजिप्टमा सुरू हुने तय भएको छ ।

यता अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले पनि हमासले युद्धविराम सम्झौता गर्न ढिलाइ गरे सह्य नहुने चेतावनी दिनुभएको छ । हमासले चाँडो कदम नचाले सबै कुरा समाप्त हुने उहाँको भनाइ छ।