काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा बन्धक बनाइएकाहरुको रिहाइ घोषणा आगामी केही दिनभित्रै हुने आशा व्यक्त गर्नुभएको छ । एक टेलिभिजन वक्तव्यमा नेतन्याहूले सजिलो या गाह्रो तरिकाले हमासलाई निशस्त्र बनाइने र गाजालाई निशस्त्रीकरण गरिने चेतावनी पनि दिनुभएको छ ।
हमासले अमेरिकी शान्ति योजनाअन्तर्गत बन्धक रिहा गर्न सहमति जनाएपछि नेतन्याहूको यो भनाइ आएको हो । तर, हमासले निशस्त्रीकरणको कुरा उल्लेख गरेको छैन भने अन्य विषयमा वार्ताको प्रस्ताव गरेको छ । हमासले गाजामा आक्रमण गरेर नरसंहार जारी राखेको आरोप लगाउँदै इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न आग्रह गरेको छ । दुवै पक्षबीचको अनौपचारिक युद्धविराम वार्ता भने सोमबार इजिप्टमा सुरु हुने तय भएको छ ।
यता अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले पनि हमासले युद्धविराम सम्झौता गर्न ढिलाइ गरे सह्य नहुने चेतावनी दिनुभएको छ । हमासले चाँडो कदम नचाले सबै कुरा समाप्त हुने उहाँको भनाइ छ।