युद्ध अन्त्य र बन्धक रिहाइका विषयमा वार्ता सुरू गर्न हमास तयार

आश्विन १८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
युद्ध अन्त्य र बन्धक रिहाइका विषयमा वार्ता सुरू गर्न हमास तयार

काठमाडौं । प्यालेस्टिनी समूह हमास गाजामा युद्ध अन्त्य गर्न र बन्धकहरूलाई रिहाइ गर्न तत्काल वार्ता सुरू गर्न तयार भएको छ । 

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इजरायलमाथि प्यालेस्टिनी क्षेत्रमा आक्रमण रोक्न गरेको आहृवानको हमासले स्वागत गरेको हो । हमासका प्रवक्ता ताहेर अल-नुनुले हमास बन्दी आदानप्रदान गर्न, युद्ध अन्त्य गर्न र गाजापट्टीबाट इजरायली सेनाको फिर्ती सुनिश्चित गर्न तत्काल वार्तामा बस्न तयार रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । नेपालका विपीन जोशी पनि दुई वर्षदेखि हमासको नियन्त्रणमा छन् ।

हमासले गाजापट्टीमा इजरायली आक्रमणको तत्काल अन्त्यबारे अमेरिकी राष्ट्रपति ट्रम्पको शान्ति योजना उत्साहजनक भएको बताएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले इजरायलले सबै बन्धकको रिहाइका लागि ट्रम्पको योजनाको पहिलो चरणक तत्काल कार्यान्वयनका लागि तयारी गरिरहेको जनाएको छ । 

ट्रम्पको दृष्टिकोणसँगको समन्वयमा इजरायलले तय गरेको सिद्धान्तअनुसार युद्ध अन्त्य गर्न पूर्ण सहयोगी भूमिका खेल्ने नेतन्याहूको कार्यालयले जनाएको हो । यता अमेरिकी राष्ट्रपति ट्रम्पले गाजा वार्तामा सबै पक्षलाई निष्पक्ष व्यवहार गरिने भन्दै यो घटनाक्रम भएको दिनलाई विशेष दिन भन्दै प्रशंसा गर्नुभएको छ ।

कतार र इजिप्टले पनि हमासको बयानलाई स्वागत गर्दै यसले द्वन्द्वको अन्त्य सुनिश्चित गर्न मद्दत गर्ने आशा व्यक्त गरेका छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गटेरेसले सबै पक्षलाई यो अवसरको उपयोग गर्न आग्रह गर्नुभएको छ ।