काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर रोहित चन्दले घरेलु मैदानमा खेलिनु पर्ने खेल विदेशी भूमिमा खेल्नुपर्दा टिमका लागि चुनौती थपिने बताएका छन् ।
एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामविरूद्धको खेल खेल्न जाने नेपाली टोलीको बिदाइ कार्यक्रममा डिफेन्डर रोहितले घरेलु मैदानमा खेलिनु पर्ने खेल विदेशमा खेल्न सहज नहुने बताएका हुन् । अखिल नेपाल फुटबल संघ-एन्फाले साेमबार एन्फा कम्प्लेक्समा टोलीको बिदाइ कार्यक्रम गरेको हो ।
मुख्य प्रशिक्षक म्याट रसले जेन-जी प्रदर्शनका कारण बंगलादेशविरूद्धको दोस्रो मैत्रिपूर्ण खेल हुन नसक्दा सबै खेलाडीको क्षमता परीक्षण गर्न नसकिएको बताए । नेपाल र बंगलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो भने भदौ २४ गतेका लागि तय दोस्रो खेल प्रदर्शनका कारण रद्ध भएको थियो ।
कप्तान किरण चेम्जोङ बंगलादेशमा लिगमा व्यस्त भएकाले उनी बिदाइ कार्यक्रममा उपस्थित थिएनन् । उनी उतैबाट भियतनाम गएर टिममा सामेल हुने बताइएको छ । प्रशिक्षक रसले यस अघिनै बंगलादेशविरूद्धको मैत्रीपूर्ण खेल खेलेको टोलीबाट ६ खेलाडी परिवर्तन गर्दै भियतनाम भ्रमणमा जाने टोली घोषणा गरिसकेका थिए ।
दुई टोलीबीचको पहिलो खेल असोज २३ गते खेलिने छ । यो खेल नेपालका लागि अवे म्याच हो । तर २८ गते खेलिने दोस्रो खेल नेपालमै हुनु पर्नेमा दशरथ रंगशाला अयोग्य ठहरिएपछि नेपालले आफ्नो होम गेम पनि विदेशमा खेल्नु पर्ने भएको हो ।