काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट प्यासिफिक संयुक्त छनोटअघिको आफ्नो दोस्रो अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको छ ।
यससँगै नेपालले छनोट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरेको छ । मस्कटस्थित ओमान क्रिकेट एकेडेमी ग्राउन्ड वानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रन बनाएको हो ।
ओपनर आसिफ शेख ११ र कप्तान रोहितकुमार पौडेललाई ८ रनमा गुमाए पनि आक्रामक ब्याटिङ गरेका अर्का ओपनिङ ब्याटर कुशल भुर्तेलले ३३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३८ रन प्रहार गर्दा सन्दीप जोरा १ रन र लोकेश बम २ रनमा आउट भए । आरिफ शेखले १३ रन बनाए । कुशल मल्लले ३८ रनमा नटआउट रेह । कतारका शारिक मुनिर र इक्रामुल्लाहले समान २-२ विकेट लिए ।
१ सय ७१ रनको लक्ष्य लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो । उसका लागि मोहम्मद असिम ३० रनको योगदान दिए । मोहम्मद तन्विरले ३७ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले । मिर्जा बेगले २७ बलमा ४० रन बनाउनुबाहेक अन्य ब्याटरले खास प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि करण केसीले ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र नन्दन यादवको नाममा १-१ विकेट रह्यो । नेपालले पहिलो अभ्यास खेलमा घरेलु टोली ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।
विश्वकप छनोट बुधबारदेखि ओमानमा सुरू हुँदैछ । समूह 'बी'मा रहेको नेपालले कुबेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले कुवेतसँग आगामी बुधबार र जापानसँग शुक्रबार खेल्नेछ । कतारले मलेसिया र यूएईसँग खेल्नेछ । समूह 'सी'मा घरेलु टिम ओमान, पपुवा न्युगिनी र सामोआ छन् ।
तीन समूहका शीर्ष दुई टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट तीन टिमले अर्को वर्ष हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन् ।