
काठमाडौं । भारतका प्रधानन्यायाधीश बीआर गवईमाथि सर्वोच्च अदालतमै जुत्ता प्रहार भएको छ ।
अदालतको कोर्ट नम्बर १ मा सुनुवाइ चलिरहेकै बेला राकेश किशोर नाम गरेका वकिलले जुत्ता खोलेर प्रधानन्यायाधीशलाई प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनालगत्तै अदालत पुगेको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
राकेश किशोर मयूर बिहार क्षेत्रमा बस्ने गरेको र सर्वोच्च अदालतको बार एसोसिएसनको सदस्य भएको बताइएको छ । खजुराहो मन्दिर परिसरमा रहेको जावरी मन्दिरमा ७ फिट अग्लो भगवान् विष्णुको प्रतिमालाई पुनर्निर्माण गर्नका लागि दायर भएको मुद्दा खारेजीको फैसला गर्ने क्रममा प्रधानन्यायाधीशले गरेको टिप्पणीमा असन्तुष्टि पोख्दै आक्रमण भएको बताइएको छ ।