काठमाडौं । अमेरिकी सिनेटमा प्रस्तुत गरिएको खर्चसम्बन्धी विधेयक पारित हुन नसकेपछि अमेरिकामा गभर्मेन्ट शटडाउन भएको छ ।
आगामी नोभेम्बर २१ सम्म सरकारी कामकाजलाई निरन्तरता दिन सकिने छोटो अवधिको खर्च उपायसम्बन्धी विधेयक सिनेटले अस्वीकृत गरेको केही घण्टामै गभर्मेन्ट शटडाउन अर्थात् सरकारी कामकाज बन्द भएको हो । सन् १९८१ यताकै यो १५ औं गभर्मेन्ट शटडाउन हो ।
यसअघि ट्रम्पको पहिलो कार्यकालमा सन् २०१८ मा को सुरूमै सबैभन्दा लामो ३५ दिनसम्म गभर्मेन्ट शटडाउन भएको थियो । यस पटक यो स्थिति लामो अवधिसम्म जारी रहने अनुमान गरिएको छ । गभर्मेन्ट शटडाउनका क्रममा अत्यावश्यकीय सेवा भने जारी रहनेछन् ।
केही सरकारी कर्मचारीले विना तलब काम गर्नुपर्नेछ भने दैनिक ७ लाख ५० हजार संघीय कर्मचारीहरू विना तलब छुट्टीमा बस्नेछन् । शटडाउनका क्रममा अमेरिकाभित्रका यात्रु र विदेशबाट आउनेहरूलाई उल्लेखनीय असर पर्ने सीएनएनले जनाएको छ।
उडान जारी रहे पनि विमानस्थलमा लामो लाइन र यात्रा तालिकामा अव्यवस्था तथा उडानमा ढिलाइ या रद्द हुन सक्नेछ । हवाई यातायात नियन्त्रक र सुरक्षा जाँच कर्मचारीले तलब विना नै काम गर्नुपर्नेछ । अमेरिकी राष्ट्रिय उद्यान पनि बन्द हुन सक्छन् । तर, घरेलु र विदेशी कन्सुलर सेवामा भने असर गर्नेछैन ।
विधेयक पारित नभए पनि वार्षिक बजेट प्रक्रियासँग नजोडिएका हुलाक सेवा, सामाजिक सुरक्षा चेक र मेडिकेयर भुक्तानी जारी रहनेछ । पूर्वसैनिकको स्वास्थ्य सेवा निरन्तर रहनेछ भने सीमा प्रहरी, राष्ट्रिय मौसम सेवा, सेना तथा राष्ट्रिय सुरक्षा संयन्त्र सक्रिय नै रहनेछन् ।
राष्ट्रपति डनल्ड ट्रम्पले भने शटडाउन अघि बढे संघीय कर्मचारीलाई सामूहिक निस्कासन गर्ने चेतावनी दिनुभएको छ ।