काठमाडाैं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग गाजा युद्ध अन्त्य र बन्धकलाई मुक्तसम्बन्धी २० बुँदे योजना प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले रक्तपातपूर्ण द्वन्द्वप्रति असन्तुष्टि व्यक्त गर्दै वर्तमान अवस्थामा हमास निकै कमजोर भएको र अब यस प्रस्तावलाई स्वीकार गर्नुबाहेक विकल्प नरहेको बताउनुभएको छ । प्रधानमन्त्री नेतन्याहुले समेत योजना अस्वीकार भएमा इजरायलले अन्तिम कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
कतारका प्रधानमन्त्री र इजिप्टका गुप्तचर प्रमुखमार्फत यो योजना हमाससमक्ष प्रस्तुत गरिएको छ । हमास वार्ताकारहरूले यसलाई ‘राम्रो विश्वासका साथ’ अध्ययन गरिरहेको जानकारी दिएका छन् । ट्रम्पको योजनाको प्यालेस्टिनी सरकारले स्वागत गरेको छ भने इजिप्ट, जोर्डन, इन्डोनेसिया, पाकिस्तान, टर्की, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले संयुक्त वक्तव्य जारी गर्दै ट्रम्पको पहलको प्रशंसा गरेका छन् ।
तर, दीर्घकालीन शान्तिको आधार मानिने प्यालेस्टिनी राज्यको प्रश्न प्रस्तावमा प्रष्ट उल्लेख नगरिएको भन्दै आलोचना पनि गरिएको छ । यसैगरी फ्रान्स, बेलायत, इटाली, स्पेन तथा युरोपेली संघले पनि अमेरिकी पहलको समर्थन गर्दै सबै पक्षलाई योजना स्वीकार गर्न आह्वान गरेका छन् । युरोपेली मुलुकले दुई-राज्य समाधान मात्र दीर्घकालीन शान्तिको बाटो भएको दोहोर्याउँदै आएका छन् ।
हमासको निःशस्त्रीकरणको सर्त विगतका वार्तामा अस्वीकार्य मानिँदै आएको थियो । यसपटक योजना अनुसार ट्रम्पको नेतृत्वमा र बेलायका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरलाई समेत समावेश गरी अस्थायी प्रशासकीय समिति गठन गरिनेछ ।
योजनाले इजरायलले स्वीकृति दिएलगत्तै ७२ घण्टाभित्र हमासले सबै बन्धक मुक्त गर्नुपर्ने प्रावधान राखेको छ । यससँगै इजरायलले सयौँ प्यालेस्टिनीलाई रिहा गर्ने उल्लेख गरिएको छ । राष्ट्रपति ट्रम्पले योजना सफल नभए हमासविरुद्ध थप इजरायली कारबाहीमा आफ्नो पूर्ण समर्थन हुने चेतावनी दिनुभएको छ ।