मडागास्करमा युवाहरूको हिंसात्मक प्रदर्शनपछि राष्ट्रपति रजोएलिनाद्वारा सरकार भंगको घोषणा

नयाँ सरकार गठनका लागि ३ दिनको समय
आश्विन १४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
मडागास्करमा युवाहरूको हिंसात्मक प्रदर्शनपछि राष्ट्रपति रजोएलिनाद्वारा सरकार भंगको घोषणा

काठमाडाैं । मडागास्करमा युवाहरूको हिंसात्मक प्रदर्शनपछि राष्ट्रपति एन्ड्री रजोएलिनाले सरकार भंगको घोषणा गर्नुभएको छ ।

पानी र विजुली कटौतीविरूद्ध जेन-जी युवाहरूले गत बिहीबारदेखि सुरू गरेको प्रदर्शनपछि राष्ट्रपति रजोएलिनाले सरकार भंगको घोषणा गर्नुभएको हो । 

सोमबार टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति रजोएलिनाले नागरिकका अपेक्षाअनुसार सरकारले काम नगरेको भए आफूले माफी माग्ने बताउनुभएको छ । उहाँले नयाँ सरकार गठनका लागि ३ दिनको समय दिनुभएको छ । प्रदर्शनका क्रममा हजारौं युवाहरूले गत बिहीबारदेखि राष्ट्रपतिको राजीनामा माग गर्दै आएका थिए । 

राष्ट्रसंघले प्रदर्शनका क्रममा २२ जना मारिएको र एक सयभन्दा बढी घाइते भएक‍ो जनाएको छ । राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त भोल्कर टुर्कले प्रदर्शनकारीमाथि भएको बल प्रयोगप्रति पनि निन्दा गर्नुभएको छ । तर मडागास्करको विदेश मन्त्रालयले भने राष्ट्रसंघको तथ्यांकप्रति आपत्ति जनाएको छ ।