चाडबाडमा पनि निरन्तर सेवा : दशैंका दिन नागरिक सेवामा समर्पित अत्यावश्यक क्षेत्रका सेवकहरू

आश्विन १६, २०८२ |सुमन पन्थ
चाडबाडमा पनि निरन्तर सेवा : दशैंका दिन नागरिक सेवामा समर्पित अत्यावश्यक क्षेत्रका सेवकहरू

काठमाडौं । दशैंका टिकाको दिन हामीले मध्ये धेरैले साइतमै टीका लगायौं । तर अत्यावश्यक सेवाका क्षेत्रमा काम गर्ने सेवकहरूले भने कतिले टीका लगाउनै पाएनन् भने कतिले पालो मिलाएर टीका लगाए ।

साझा यातायातका सवारी चालक सुरेशकुमार श्रेष्ठलाई हामीले भेट्दा उहाँ आफूले चलाउने विद्युतीय गाडी चार्ज गर्न पुल्चोकस्थित साझा यातायातको ग्यारेजमा हुनुहुन्थ्यो। दिउँसो एक बजेसम्ममा उहाँले गोदावरीदेखि गोंगबुसम्मको टिप सकिसक्नुभएको थियो। 

टीका लगाउन घर हिंडेकादेखि आफन्तकोमा गइरहेका थुप्रै यात्रुलाई गन्तव्यसम्म पुर्‍याएर आफूले भने सााझमात्र टीका लगाउने योजना उहाँले सुनाउनुभयो। साझाकै ट्राफिक व्यवस्थापक मधु थापालाई पनि सबै यात्रु गन्तव्यमा पुगुन् भनेर सवारी रूट व्यवस्थापनको कामले व्यस्त बनाएको थियो।

सीता एयरका क्याप्टेन रविन्द्र डंगोलले भने काठमाडौंबाट लुक्लाको २ वटा उडान सकेर मात्र टिका लगाउन भ्याउनु भयो। दशैंको टीका सबैलाई परिवारमा बसेर साइतमै लगाउँ भन्ने हुन्छ। तर अत्यावश्यकीय सेवालाई आफ्नो पेशा बनाएकाहरूलाई भने चाडबाडमा झनै व्यस्तता हुन्छ। 

अस्पतालमा बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मीलाई पनि चाड भन्दा काममै चटारो हुन्छ। वीर अस्पतालका वार्डमा आज पनि प्रशस्त बिरामी थिए । इमर्जेन्सी वार्डमा बिरामीको सेवामा दत्तचित्त डा. नरेन्द्रकुमार शाह र नर्स अनुजा ढकालले दशाैंभन्दा बिरामीको सेवा नै पहिलो प्राथ्मिकता रहेको हामीलाई सुनाउनु भयो ।

दशैंमा छुट्टी नपाउनेको सूचीमा सबैभन्दा माथि आउँछ प्रहरी सेवा। ट्राफिक व्यवस्थापनदेखि टोल टोलको सुरक्षामा प्रहरीको उपस्थिति अनिवार्य हुन्छ। दशैंकै लागि नागरिक सुरक्षाका लागि प्रहरीले यसपटक अतिरिक्त जनशक्ति परिचालन गरेको छ।

उता काठमाडौं जुद्ध बारूद यन्त्रको कार्यालयमा पनि प्राविधिकहरू दिनभर अलर्ट थिए । नागरिकले घर र समूदायमा चाडपर्व मनाइरहँदा अत्यावश्यकीय सेवामा खटिएकाहरूको दशैं भने नागरिकको सेवामै समर्पित भएको देखियो।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।