ट्रम्प र नेतन्याहूबीच आज ह्वाइटहाउसमा भेटवार्ता हुँदै, गाजा युद्ध अन्त्यबारे सहमति हुने ट्रम्पको अपेक्षा

आश्विन १३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
ट्रम्प र नेतन्याहूबीच आज ह्वाइटहाउसमा भेटवार्ता हुँदै, गाजा युद्ध अन्त्यबारे सहमति हुने ट्रम्पको अपेक्षा
Photo Source : Agency

काठमाडौं । इजरायलले गाजा सिटीमा आक्रमण तीब्र बनाउँदै लगेका बेला अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच साेमबार ह्वाइटहाउसमा भेटवार्ता हुँदैछ ।

इजरायली प्रधानमन्त्री नेतन्याहूसँगको द्विपक्षीय वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले गाजा युद्ध अन्त्यबारे सहमति हुने अपेक्षा गर्नुभएको सीएनएनले जनाएको छ । तर, ह्वाइटहाउसको २१ बुँदे युद्धविराम र युद्धपछिको योजनाप्रति नेतन्याहूको असहमति रहेको इजरायली अधिकारीहरूले जनाएका छन् । 

आइतबार फक्स न्युजसँगको अन्तर्वार्तामा पनि नेतन्याहूले युद्धविराम सहमतिलाई अन्तिम रूप दिन बाँकी रहेको बताउनुभएको थियो । ट्रम्प र नेतन्याहूको भेटवार्ताअघि गाजामा बन्धक बनाइएकाहरूका परिवारले न्यूयोर्कको सेन्ट्रल पार्कमा युद्ध अन्त्यको माग गर्दै प्रदर्शन गरेका छन् । 

उनीहरूले नेतन्याहूले राजनीतिक कारणले युद्ध जारी राखेको आरोप लगाएका छन् । यसैबीच, इजरायली आक्रमणबाट गाजामा २४ घण्टामा ५० प्यालेस्टिनी मारिनुका साथै १ सय ८४ जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।