काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, राष्ट्रिय सुरक्षासमेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिक सम्बन्ध उच्च बनाउनुपर्ने कुरामा जोड दिनुभएको छ।
असोज १७ गतेदेखि असोज २० गतेसम्म पाँच प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको प्रक्षेपणको पृष्ठभूमिमा मनसुन विपद् सम्बन्धी भर्चुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले विपद् व्यवस्थापन गर्दा सुशासन र सेवा प्रवाह अटुट रहने कुरामा ध्यान दिनुपर्ने बताउनुभएको हो।
सम्भावित विपद्लाई मध्यनजर गरेर गृहमन्त्री अर्यालले सरोकारवाला सबै निकायसहित, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गर्नुभएको हो। त्यसक्रममा उहाँले सम्भावित विपद्बाट जनधनको क्षति कम गर्न समन्वय, सहकार्य र प्रभावकारी सञ्चारमा जोड दिनुभयो।