काठमाडौं । गाजा सिटी पूर्ण रुपमा नियन्त्रण गर्ने उद्देश्यले आक्रमण तीब्र बनाएको इजरायलले शनिबार स्थानीयलाई दक्षिणको खान युनिसतर्फ जान आग्रह गरेको छ ।
इजरायली सेनाका प्रवक्ता अभिचे एडिराइले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै सहरका बासिन्दाहरूलाई दक्षिण गाजाको खान युनिसस्थित समुद्री किनारमा तोकिएको मानवीय क्षेत्रमा जान निर्देशन दिइएको जनाउनुभएको हो । त्यहाँ जानेहरूलाई खाना, स्वास्थ्य उपचार र आश्रय उपलब्ध हुने आश्वासन इजरायलले दिएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको प्रमुख गढ गाजा सिटी कब्जा गर्न हमासलाई पराजित गर्न आवश्यक भएको बताएपछि इजरायली सेनाले आक्रमण तीब्र बनाएको हो ।
शनिबारमात्र इजरायलले गाजाको १२ तल्ले भवनलाई क्षेप्यास्त्र प्रहार गरेर ध्वस्त बनाएको छ । उक्त भवनलाई हमासले प्रयोग गर्दै आएको इजरायलको दाबी छ । उक्त भवनको आसपास युद्धबाट विस्थापित दर्जनौं प्यालेस्टीनले आश्रय थलो बनाउँदै आएका थिए ।
इजरायलका रक्षा मन्त्री इजरायल काट्जले शुक्रबार हमासले बन्धक रिहाइ र निशस्त्रीकरणको शर्त स्वीकार नगरेसम्म आक्रमण अझ तीव्र गतिमा अघि बढ्ने र हमासलाई पूर्ण रूपमा ध्वस्त पारिने चेतावनी दिनुभएको थियो ।
गत २४ घण्टामा मात्र इजरायली आक्रमणबाट ६८ जनाको मृत्यु भएको छ भने ३ सय ६२ जना घाइते भएका छन् । हालसम्म गाजाको करिब ७५ प्रतिशत क्षेत्रमा नियन्त्रण कायम गरेको इजरायलले जनाएको छ। युद्धअघि गाजा सिटीमा करिब १० लाख मानिस अर्थात् गाजाको कुल जनसङ्ख्याको झन्डै आधा बसोबास गर्थे।