काठमाडौं । अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत भन्सार शुल्क बुधबारदेखि लागू भएको छ । रूसबाट तेल खरिद गरेका कारण भारतलाई दबाब दिन अमेरिकाले भारतीय उत्पादनमा विद्यमान भन्सार शुल्क दोब्बर गर्दै ५० प्रतिशत पुर्याएको हो ।
अमेरिकाको यस कदमपछि दुवै मुलुकको सम्बन्धमा तनाव थपिएको छ भने विश्वकै पाँचौ ठूलो अर्थतन्त्र भारतको निर्यात र वृद्धिमा ठूलो धक्का पुग्न सक्ने विश्लेषण गरिएको छ ।
५० प्रतिशत भन्सार शुल्कको नयाँ व्यवस्थाअनुसार औषधि, कम्प्युटर चिप्स र स्मार्टफोनजस्ता केही क्षेत्रलाई भने छुट दिइएको छ । स्टिल, एल्युमिनियम र अटोमोबाइल उद्योगलाई पनि यो भन्सार शुल्कबाट अलग राखिएको छ ।
अमेरिका भारतको प्रमुख निर्यात बजार हो । सन् २०२४ मा मात्र भारतले अमेरिकामा ८७ अर्ब ३० करोड डलरको वस्तु निर्यात गरेको थियो । तर ५० प्रतिशत भन्सार शुल्क व्यापार प्रतिबन्धसरह हुने अर्थविद्हरूको भनाइ छ ।
यसले कपडा, समुद्री खाना र गहनाजस्ता क्षेत्रमा काम गर्ने साना कम्पनीहरूलाई ठूलो धक्का पुर्याउने सम्भावना रहेको बताइएको छ । यी सामग्रीका निर्यातकर्ताहरूले पहिले नै अर्डर रद्द हुनुका साथै बङ्गलादेश र भियतनामजस्ता प्रतिस्पर्धीलाई फाइदा पुगेको बताएका छन् । यसले रोजगारी कटौतीको डर पनि बढाएको छ ।
भारतले वासिङ्टनको कदमलाई ‘अनुचित, अन्यायपूर्ण र अव्यावहारिक’ भन्दै कडा आलोचना गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसका अवसरमा गरेको सम्बोधनमा भारत अब आत्मनिर्भरको मार्गमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।
उहाँले मेड इन इन्डिया राखेका बोर्ड राख्न साना व्यवसायीलाई आग्रह गर्नुभएको छ । सन् २०२४ मा भारतको कुल कच्चा तेल आयातमध्ये ३६ प्रतिशत हिस्सा रूसबाट आएको थियो ।