किएभमा रुसको भिषण आक्रमण, १४ जनाको मृत्यु

भाद्र १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
किएभमा रुसको भिषण आक्रमण, १४ जनाको मृत्यु

काठमाडौं । रुसले गए राति युक्रेनको राजधानी किएभमा भीषण ड्रोन र मिसाइल हमला गरेको छ । आक्रमणमा तीन बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु र ३८ जना घाइते भएको अधिकारीहरूले जनाएका छन्।

रुसले रातभरमा ५ सय ९८ ड्रोन र ३१ मिसाइलमार्फत् आक्रमण गरेको युक्रेनी वायु सेनाले जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस आक्रमणलाई “योजनाबद्ध हत्या” भन्दै आलोचना गर्नुभएको छ । आक्रमणबाट किएभस्थित ब्रिटिश काउन्सील तथा युरोपेली आयोगको भवन पनि क्षतिग्रस्त भएका छन् ।

युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिहाले रुसले कूटनीतिज्ञहरूलाई लक्षित गरेको भन्दै यो आक्रमण “भियना सम्झौतामाथिको प्रत्यक्ष उल्लंघन” भएकाले विश्वव्यापी निन्दा गर्न आह्वान गर्नुभएको छ । यता रुसले पनि बुधबार रातभरमा युक्रेनद्वारा प्रहार गरिएका १ सय २ वटा ड्रोन नष्ट गरिएको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच प्रत्यक्ष भेटवार्ताको दुई हप्तामै युक्रेनमाथि आक्रमण भएको हो । शुक्रबार न्यूयोर्कमा युक्रेनी प्रतिनिधिमण्डलले अमेरिकी अधिकारीहरूसँग भेटेर रुससँगको युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्ने कार्यक्रम छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.