छ लाख चिनियाँ विद्यार्थीलाई भिसा दिने ट्रम्पको घोषणा

बाइडेन प्रशासनको तुलनामा चीनसँगको आर्थिक सम्बन्ध बलियो रहेको दाबी
भाद्र ११, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
छ लाख चिनियाँ विद्यार्थीलाई भिसा दिने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले चीनबाट ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने घोषणा गर्नुभएको छ । 

चीनसँगको भन्सार शुल्क वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले चिनियाँ विद्यार्थीहरूको अमेरिका प्रवेशाज्ञालाई सहज बनाएको घोषणा गर्नुभएको हो । अमेरिकाले चिनियाँ विद्यार्थीलाई भिसा दिँदैन भन्ने अफवाह धेरै सुनेको बताउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले ६ लाख चिनियाँ विद्यार्थीलाई अमेरिका प्रवेश अनुमति दिने जानकारी दिनुभयो । 

आगामी दिनमा चीनसँग राम्रो सम्बन्ध कायम हुनेमा समेत ट्रम्पले विश्वास व्यक्त गर्नुभयो । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल करिब २ लाख ७० हजार चिनियाँ विद्यार्थी अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत छन् ।

ट्रम्पले अहिलेको चीनसँगको आर्थिक सम्बन्ध अघिल्लो बाइडेन प्रशासनको तुलनामा निकै बलियो रहेको दाबी पनि गर्नुभयो । यस वर्षको सुरूमा अमेरिकी प्रशासनले सबै चिनियाँ सामानमा १ सय ४५ प्रतिशत कर लगाएको थियो । 

यसको जवाफी कदमस्वरूप बेइजिङले अमेरिकी निर्यातमा पनि १ सय २५ प्रतिशत कर लगाएपछि दुई देशबीचको व्यापारिक सम्बन्ध निकै चिसिएको थियो ।

यसअघि, मे महिनामा अमेरिकी विदेशमन्त्री मार्को रूबियोले चिनियाँ नागरिकहरू, विशेषगरी कम्युनिस्ट पार्टी वा संवेदनशील अनुसन्धान क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि भिसा आक्रामक रूपमा रद्द गर्ने योजना सार्वजनिक गर्नुभएको थियो ।