बन्धकको सुरक्षित रिहाइ र तत्काल युद्धविराम माग गर्दै इजरायलभर प्रदर्शन

५ पत्रकारसहितको ज्यान जाने गरी नासेर अस्पतालमा भएको आक्रमणको चौतर्फी निन्दा
भाद्र १०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
बन्धकको सुरक्षित रिहाइ र तत्काल युद्धविराम माग गर्दै इजरायलभर प्रदर्शन

काठमाडौं । गाजामा तत्काल युद्धविराम र हमासको कब्जामा रहेका बाँकी बन्धकको सुरक्षित रिहाइको माग गर्दै इजरायलभर प्रदर्शन गरिएको छ ।

'बन्धक तथा बेपत्ता परिवार मञ्च' नामक समूहले राजमार्गहरू अवरूद्ध गर्दै प्रदर्शन गरेको हो । युद्ध तत्काल अन्त्य गर्नुपर्ने र बन्धकहरूको मुक्तिलाई प्राथमिकता दिनुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारीहरूले तेल अभिभस्थित अमेरिकी दूतावासबाहिर इजरायली झण्डा पनि फहराए । मंगलबार बिहान तेलअभिभको होस्टेज स्क्वायरमा आयोजित पत्रकार सम्मेलनमा बन्धकका परिवारले बन्धक रिहाइका लागि तत्काल सम्झौताको माग गरे । 

सरकारले बन्धकहरूलाई फिर्ता ल्याउनै नचाहेको उल्लेख गर्दै उनीहरूले अब जनताले बन्धक फिर्ता ल्याउने बताए । ८० प्रतिशतभन्दा बढी इजरायलीले युद्ध अन्त्य र बन्धक फिर्ताको सम्झौता चाहेको उनीहरूको भनाइ छ । बन्धकका परिवारले सरकारले ६ सय ९० दिनदेखि स्पष्ट उद्देश्यविना नै युद्ध गरिरहेको आरोप लगाएका छन् ।

यसैबीच, ५ पत्रकारसहित २१ जनाको ज्यान जाने गरी हिजो गाजास्थित नासेर अस्पतालमा भएको आक्रमणको विश्वव्यापी रूपमा निन्दा गरिएको छ । क्यानडा, इजिप्ट, इरान र सउदी अरेबियाले इजरायली आक्रमणको विरोध गरेका हुन् । 

इरानले आक्रमणलाई बर्बर युद्ध अपराध भनेको छ । डाक्टर विदाउट बोर्डर्स र फरेन प्रेस एसोसिएसनलगायत अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले चिकित्सक र पत्रकारलाई लक्षित गरी आक्रमण गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।