काठमाडौं । राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन-रूस सम्बन्धलाई प्रमुख विश्व शक्तिहरूमध्ये ‘सबैभन्दा स्थिर, परिपक्व र रणनीतिक रूपमा महत्त्वपूर्ण’ भन्दै प्रशंसा गर्नुभएको छ ।
रूसको ड्युमा (संसद्को तल्लो सदन)का अध्यक्ष भाचेस्लाभ भोलोडिनसँगको भेटमा उहाँले चीन-रूस सम्बन्धलाई ‘विश्व शान्तिको स्थिर स्रोत’ को रूपमा वर्णन गर्नुभएको चिनियाँ राज्य सञ्चारमाध्यम सिसिटिभीले जनाएको छ ।
“दुवै पक्षले, दुवै देशको सुरक्षा र विकास हितको रक्षा गर्न, ग्लोबल साउथलाई एकताबद्ध गर्न, साँचो बहुपक्षवादलाई कायम राख्न र अन्तर्राष्ट्रिय व्यवस्थामा निष्पक्षता तथा न्याय प्रवर्द्धन गर्न मिलेर काम गर्नुपर्छ”, सीले बेइजिङको भव्य ग्रेट हल अफ द पिपुलमा आयोजित भेटमा भन्नुभयो ।
सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि बेइजिङ र मस्कोबीचको सम्बन्ध अझ गहिरो बन्दै गएको छ । चीनले युद्धको निन्दा नगरेको र मस्कोलाई सेना फिर्ता लिन पनि आह्वान नगरेको स्पष्ट छ ।
युक्रेनका सहयोगी राष्ट्रहरूलाई चीनले आफ्नो बिशाल उत्तरी छिमेकीलाई समर्थन गरिरहेको विश्वास छ । तर चीनले भने आफू तटस्थ रहेको दाबी गर्दै आएको छ र युद्ध अन्त्यका लागि नियमित आह्वान गर्दै पश्चिमी मुलुकहरूले युक्रेनलाई हतियार आपूर्ति गरेर द्वन्द्व लम्ब्याएको आरोप लगाइरहेको छ ।
यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै सप्ताहन्तमा चीन भ्रमण गर्ने तय भएको छ । उहाँ अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म उत्तरी सहर तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ । साथै दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव कार्यक्रममा पनि उपस्थित हुनुहुनेछ ।
पुटिनले यस अवसरमा राष्ट्रपति सीसँग पनि वार्ता गर्नुहुनेछ । उहाँहरूबीच पहिले नै गहिरो व्यक्तिगत सम्बन्ध रहेको बताइन्छ । यसै महिना सीले फोनमार्फत पुटिनलाई मस्को-वासिङ्टन सम्बन्धमा देखिएको सुधारप्रति चीन खुसी भएको बताउनुभएको थियो ।
पुटिनले यसै महिना अलास्कामा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसँग युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले उच्चस्तरीय वार्ता गर्नुभएको थियो । तर त्यसपछिका दिनमा शान्ति वार्तामा खास प्रगति भएको देखिएको छैन ।