काठमाडौं । भारतको जम्मु-कश्मीरस्थित डोडा क्षेत्रमा मंगलबार परेको भीषण वर्षापछि आएको आकस्मिक बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ भने केही अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।
सबैभन्दा धेरै प्रभावित क्षेत्रहरूमा गान्डोह, ठाठरी र रामबन पर्न आएका छन्। बाढी र पहिरोका कारण धेरै स्थानमा जनधनको क्षति भएको बताइएको छ।
“बिहान गान्डोह क्षेत्रमा बाढी आएको थियो जसमा एक जनाको मृत्यु भएको छ। घटनास्थल बासोबास नभएको क्षेत्र भएकाले ठूलो क्षति भने भएको छैन,” एक प्रहरी अधिकारीले सिन्ह्वासँगको टेलिफोन वार्तामा जानकारी दिनुभयो।
जिल्ला प्रशासनका अनुसार डोडा जिल्लाको टन्टा र ठाठरी क्षेत्रमा पनि वर्षासँग सम्बन्धित घटनामा तीन जनाको मृत्यु भएको छ।
मिडिया रिपोर्टहरू अनुसार डोडा क्षेत्रमा करिब १० वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् र बाढीले धेरै सडकहरू बगाएको छ। स्थानीय विपद् व्यवस्थापन टोली घटनास्थलमा पुगेर बेपत्ताहरूको खोजी कार्यमा जुटेको छ।-सिन्ह्वा