काठमाडौं । जापान र दक्षिण कोरियाबीच द्विपक्षीय सहयोग बढाउने सहमति भएको छ । दुई देशका नेताबीच टोकियोमा भएको भेटवार्तामा द्विपक्षीय सहयोग बढाउन सहमति भएको हो ।
जापानद्वारा २०औँ शताब्दीमा कोरियाली प्रायद्वीपमा दशकौँ लामो कब्जाका क्रममा जबर्जस्ती श्रमको प्रयोग र भूगोलसम्बन्धी विवादले दुई छिमेकीबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ ।
उत्तर कोरियाको आणविक खतराको सामना गर्न ऐतिहासिक गुनासाहरूलाई पन्छाउँदै हालैका वर्षहरूमा छिमेकी देशहरू नजिकिएका छन्। बैठकपछि जापानका प्रधानमन्त्री शिगेरू इशिबाले जारी गरेको संयुक्त वक्तव्यमा दुई देशबीचको बढ्दो चुनौतीपूर्ण रणनीतिक वातावरणकाबीच जापान–दक्षिण कोरिया सम्बन्ध र टोकियो, सियोल र वासिङ्टनबीच सहयोगको महत्व बढ्दै गएको उल्लेख छ ।
सन् १९६५ मा कूटनीतिक सम्बन्ध सामान्य भएपछि पहिलोपटक दक्षिण कोरियाली राष्ट्रपतिले आफ्नो पहिलो द्विपक्षीय भ्रमणका लागि जापानलाई रोज्नुभएको हो । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले यसले दक्षिण कोरिया-जापान सम्बन्धलाई धेरै महत्व दिन्छ भन्ने पुष्टि भएको बताउनुभयो ।
भेटवार्तामा दुई नेताबीच प्रतिरक्षा, आर्थिक सुरक्षा र कम जन्मदरजस्ता दुवैले सामना गर्नुपरेका सामाजिक मुद्दाहरूबारे समेत छलफल भएको बताइएको छ ।