आफ्नो स्वतन्त्रताको लागि लडाइँ जारी राख्ने जेलेन्स्कीको भनाइ

बेलायत, क्यानडा र नर्वेद्वारा युक्रेनलाई थप सैन्य सहायताको घोषणा
भाद्र ८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
आफ्नो स्वतन्त्रताको लागि लडाइँ जारी राख्ने जेलेन्स्कीको भनाइ

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो स्वतन्त्रताको लागि लडाइँ जारी राख्ने बताउनुभएको छ ।

स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै जेलेन्स्कीले शान्तिका आवाज नसुनिउन्जेल रूसविरूद्धको लडाइँ जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । युक्रेनलाई न्यायपूर्ण शान्ति चाहिएको र आफ्नो भविष्यबारे निर्णय केवल आफूले मात्र गर्ने उहाँको भनाइ छ । जेलेन्स्कीले युक्रेनले अझै विजय हासिल नगरे पनि हार पनि नमानेको बताउनुभयो ।

यता मस्कोले भने युक्रेनले पश्चिमी कुर्स्क क्षेत्रमा रहेको रूसी ऊर्जा तथा विद्युत् संरचनामा ड्रोन हमला गरेको आरोप लगाएको छ । आक्रमणका कारण त्यहाँको एक आणविक विद्युत् केन्द्रमा आगलागी भएको पनि रूसले जनाएको छ।

सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्रता घोषणा गरिएको दिनलाई स्मरण गर्दै युक्रेनमा स्वतन्त्रता दिवस मनाइएको हो । कार्यक्रममा सहभागी क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो मुलुक सधैं युक्रेनको पक्षमा रहने बताउनुभयो । 

स्वतन्त्रता दिवस समारोहमा अमेरिकी दूत कीथ केलेग पनि उपस्थित हनुहुन्थ्यो भने बेलायती राजा चार्ल्सले पनि युक्रेनमा स्थायी शान्ति कायम गर्न अझ गहिरो सहकार्य हुने उल्लेख गर्दै शुभकामना पठाउनु भएको थियो।

यसैबीच क्यानडाले करिब १ अर्ब क्यानडाली डलर बराबरको सैन्य सहयोग आगामी सेप्टेम्बरसम्म उपलब्ध गराइने जनाएको छ । यस्तै बेलायतले सन् २०२६ को अन्त्यसम्ममा युक्रेनी सैनिकलाई प्रशिक्षण दिइने जनाएको छ भने नर्वेले पनि ७ अर्ब क्रोनर बराबरको हवाइ प्रतिरक्षा प्रणाली सहयोग गर्ने घोषणा गरेको छ । 

आइतबार नै युक्रेन र स्वीडेनले पनि संयुक्त सुरक्षा सामग्री उत्पादनमा सहमति जनाएको घोषणा गरेका छन् ।