काठमाडौं । भियतनामले भीषण समुद्री आँधी ‘काजिकी’ आएको छ । यसले त्यहाँको जनजीवन प्रभावति बनाएको छ भने ५ लाख ८६ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।
मौसमविद्हरूका अनुसार आँधीका कारण १ सय ६६ किमी प्रतिघण्टा वेगको हावा चलिरहेको छ र भूमि प्रवेश गर्नुअघि अझै शक्तिशाली हुने अनुमान गरिएको छ। आँधी साेमबार बिहानै मध्य भियतनाममा प्रवेश गरेको हो ।
मध्य प्रान्तहरू थान होआ, क्वाङ त्री, हुये र दा नाङका बासिन्दालाई घर छाड्न आदेश दिइएको छ। उडानहरू रद्द गरिएको छ भने डुङ्गा तथा माछापालनका गतिविधिहरू रोकिएका छन्।
चीनको हाइनान टापु हुँदै सरिरहेको यस आँधीका कारण त्यहाँ ३ सय २० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘काजिकी’ले भियतनाममा दुई सय किमी प्रतिघण्टासम्मको हावा र ४ सय मिलिमिटर वर्षा गराउनेछ। र, २ देखि ४ मिटरसम्मको समुद्री छाल आउन सक्ने चेतावनी दिइएको छ।
भियतनाम एअरलाइन्सले आइतबार र सोमबारका लागि कम्तिमा २२ उडान रद्द गरेको छ। अधिकारीहरूलाई यो आँधी गत वर्ष सेप्टेम्बरमा आएको ‘यागी’ जस्तै घातक हुने आशंका छ । यागी आँधीका कारण भियतनाममा करिब ३ सयको मृत्यु भएको थियो ।