युक्रेनका लागि केही भूभाग फिर्ता ल्याउन प्रयास गर्ने डनल्ड ट्रम्पको भनाइ, पुटिनलाई युद्ध अन्त्य गर्न आग्रह गर्ने

श्रावण २७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
युक्रेनका लागि केही भूभाग फिर्ता ल्याउन प्रयास गर्ने डनल्ड ट्रम्पको भनाइ, पुटिनलाई युद्ध अन्त्य गर्न आग्रह गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने भेटवार्तामा युक्रेनका लागि केही भूभाग फिर्ता ल्याउने प्रयास गर्ने बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै रसले युक्रेनको ठुलो भाग कब्जा गरेकाले उसको महत्वपूर्ण भूभाग फिर्ता दिलाउन आफूले भरपुर कोशिस गर्ने बताउनुभएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यस हप्ताको अन्त्यतिर अलास्कामा वार्ता हुँदै छ । ट्रम्पले यो भेटलाई परिस्थिति बुझ्ने भेटको रूपमा अर्थ्याउनुभएको छ । 

उहाँले पूटिनलाई युद्ध अन्त्य गर्न आग्रह गर्नेसमेत बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई समेत वार्ता स्थलबाट सिधै फोन गर्न सकिने बताउनुभएको छ । 

ट्रम्पले पत्रकार सम्मेलनमार्फत् जेलेन्स्कीसँग सम्बन्ध ठीक भए पनि उहाँले गरिरहेको कामप्रति भने असहमति रहेको बताउनुभएको छ । भविष्यमा हुने अर्को बैठकमा जेलेन्स्की समेत रहने र आफू तथा पुटिनसहित त्रिपक्षीय वार्ता हुने सम्भावना रहेको राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।