इजरायली आक्रमणमा ६ पत्रकार मारिएको घटनाको राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समुदायद्वारा भर्त्सना

घटनाको स्वतन्त्र छानबिन गर्न माग
श्रावण २६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायली आक्रमणमा ६ पत्रकार मारिएको घटनाको राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समुदायद्वारा भर्त्सना

काठमाडौं । इजरायली आक्रमणमा गाजामा ६ पत्रकारहरू मारिएको घटनाको संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समुदायले भर्त्सना गरेका छन् ।

संयुक्त राष्ट्रसंघ मानवअधिकार कार्यालयले पत्रकारमाथि भएको आक्रमणको निन्दा गर्दै उक्त घटनालाई अन्तर्राष्ट्रिय मानविय कानुनको गम्भीर उल्लंघन भनेको छ। पत्रकारसहित सबै नागरिकको सुरक्षा गर्न पनि राष्ट्रसंघले इजरायललाई आग्रह गरेको छ ।

इजरायलले गएराति गाजामा गरेको हवाई आक्रमणमा अल-जजिराका ५ पत्रकार र अर्का स्वतन्त्र गरी ६ पत्रकार मारिएका हुन् । मारिएकामध्ये अल जजिराका २८ वर्षीय संवाददाता अनस अल–शरीफ पनि थिए। इजरायली सेनाले उनी हमासको एक सेलको नेतृत्व गर्दै आएको दाबी गरेको छ । तर इजरायलले दाबी गरेका प्रमाण निकै कमजोर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अल–जजिराले यो घटना प्रेस स्वतन्त्रतामाथिको पूर्वनियोजित आक्रमण भनेको छ । यस्तै बेलायती प्रधानमन्त्री केइर स्टार्मरले पत्रकार हत्याको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै स्वतन्त्र छानबिनको माग गरेको छ । 

मारिएका पत्रकारहरू सबैको सोमबार नै अन्त्येष्टि गरिएको छ । अक्टोबर २०२३ मा इजरायली सैन्य कारबाही सुरू भएयता गाजामा १ सय ८६ भन्दा बढी पत्रकार मारिइसकेका छन् । 

इजरायली सरकारको अवरोधका कारण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू गाजाभित्र पुगेर स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न पाएका छैनन्। यसैबीच, अष्ट्रेलियाले आउँदो महिनामा संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने तयारी गरेको छ। 

यसअघि बेलायत, फ्रान्स र क्यानडाले पनि यस्तै कदम चालेका थिए।