बेइजिङमा अत्यधिक वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु

श्रावण १३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
बेइजिङमा अत्यधिक वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु

काठमाडौं । चीनको राजधानी बेइजिङमा अत्यधिक वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ । बेइजिङमा ८० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ । 

यस्तै उत्तरी चीनका करिब १३० गाउँमा विद्युत् आपूर्ति बन्द भएका छन् भने दर्जनौं सडक अवरुद्ध भएका छन् । यस्तै हेबेइ प्रान्तमा पहिरोबाट ८ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।

राष्ट्रपति सी चिनफिङले थप क्षति रोक्नका लागि ‘पूर्ण क्षमताका साथ’ खोज तथा उद्धार कार्य गर्न निर्देशन दिनुभएको छ । चिनियाँ सरकारकी सञ्चार संस्था सीसीटीभीका अनुसार, जुलाई २३ यता उत्तरी चीनका धेरै प्रान्तहरूमा भारी वर्षा भइरहेका छन् ।

दक्षिण चीनमा पनि भारी वर्षा भएको छ । हङकङले पनि उच्च वर्षाको चेतावनी जारी गरेको छ । वर्षाका कारण हङकङका सडक डुबानमा परेका छन् भने रेल सेवा पनि प्रभावित भएको छ । मौसम पूर्वानुमान निकायले हङकङमा आगामी १० दिनसम्म वर्षा जारी रहने अनुमान गरेको छ ।