काठमाडौं । थाइल्यान्ड र कम्बोडिया युद्धविरामका लागि सहमत भएका छन् । मलेसियाको पुत्रजयास्थित मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमको सरकारी निवासमा भएको शान्ति वार्तामा दुवै मुलुक तात्कालिक र नि:शर्त युद्धविराममा सहमत भएका हुन् ।
मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमको पहलमा भएको वार्तामा थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाइ र कम्बोडियाका प्रधानमन्त्री हुन मानेट सहभागी थिए ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले युद्ध नरोकिए व्यापार सम्झौता नगर्ने दबाब दिएपछि दुवै मुलक सहमतिमा पुगेका हुन् । युद्धविराम स्थानीय समयअनुसार हिजो मध्यरातबाट लागू भयो । वार्तापछि मलेसिया, कम्बोडिया र थाइल्यान्डका रक्षा तथा परराष्ट्र मन्त्रीहरुलाई युद्विराम कार्यान्वयनका लागि विस्तृत संयन्त्र तयार गर्न आग्रह गरिएको छ । यस्तै दुवै मुलुकका सैन्य कमान्डरहरूबीच पनि अनौपचारिक वार्ता हुनेछ ।
रोयटर्सका अनुसार वार्तामा अमेरिका र चीनका राजदूतहरू उपस्थित थिए । वार्तापछि आयोजित पत्रकार सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले युद्धविरामले दुवै मुलुकका प्रभावितलाई सामान्य जीवनमा फर्कन अवसरहरू प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
यो समय दुवै मुलुकबीच विश्वास र भरोसा पुनर्निर्माण गर्दै अगाडि बढ्ने रहेको उहाँको भनाइ थियो । युद्धविरामको खबरसँगै विस्थापित शिविरमा रहेकाहरूले खुसी मनाएका थिए । दुवै मुलुकबीचको झडपमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २ लाख ७० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।