थाइल्यान्ड र कम्बोडियाबीचको संघर्ष तेस्रो दिन पनि जारी, वार्ता सुरु गर्न एकअर्कालाई आह्वान

श्रावण १०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
थाइल्यान्ड र कम्बोडियाबीचको संघर्ष तेस्रो दिन पनि जारी, वार्ता सुरु गर्न एकअर्कालाई आह्वान

काठमाडौं । थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा भएको संघर्ष तेस्रो दिन पनि जारी छ । संघर्ष जारी रहँदा दुवै पक्षले सीमा विवादमा आफूहरूले आत्मरक्षाका लागि कदम चालेको दाबी गर्दै संघर्ष रोक्न र वार्ता सुरु गर्न एकअर्कालाई आह्वान गरेका छन् ।

शनिबार बिहानै थाइल्यान्डको तटीय प्रान्त ट्राट र कम्बोडियाको पुरसाट प्रान्तमा झडप भएको हो । संघर्षमा हालसम्म ३० जनाभन्दा बढीको मृत्यु भएको छ भने १ लाख ३० हजारभन्दा बढी विस्थापित भएका छन् । थाइल्यान्डले शनिबारसम्म ७ सैनिक र १३ सर्वसाधारणको मृत्यु भएको जनाएको छ भने कम्बोडियामा ५ सैनिक र ८ सर्वसाधारणको मृत्यु भएको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले बताउनुभएको छ ।

गत मे महिनाको अन्त्यतिर भएको झडपमा एक कम्बोडियन सैनिकको हत्या भएपछि दुवै मुलुकबीच पुन तनाव चर्किएको हो ।

यसैबीच आसियान क्षेत्रीय संगठनका अध्यक्ष समेत रहनुभएका मलेसियाली प्रधानमन्त्री अन्वर इब्राहिमले युद्धविरामको प्रयास जारी राख्ने बताउनुभएको छ । उहाँको युद्धविराम प्रस्तावलाई कम्बोडियाले समर्थन जनाएको छ भने थाइल्यान्डले सैद्धान्तिक सहमति जनाएको छ ।

उता संयुक्त राष्ट्र सुरक्षा परिषद्को शुक्रबारको बैठकमा थाइल्यान्डका राजदूत चर्डचाइ चाइवाइविदले तत्काल आक्रमण रोक्न र वार्ता पुनः सुरु गर्न कम्बोडियालाई आग्रह गर्नुभएको छ । कम्बोडियाको रक्षा मन्त्रालयले शनिबार वक्तव्य जारी गर्दै थाइल्यान्डले कम्बोडियाको सार्वभौमिकता उल्लङ्घन गर्ने उद्देश्यले अवैध सैन्य आक्रमण गरेको आरोप लगाएको छ ।

थाइल्यान्ड र कम्बोडियाबीच ८१७ किलोमिटर सीमा जोडिएको छ भने विभिन्न स्थानमा विवाद छन् । प्राचीन हिन्दू मन्दिर 'ता मोअन थोम' र ११औं शताब्दीको 'प्रेह भिहेयर' मन्दिरका विषयमा सबैभन्दा बढी विवाद छ । सन् १९६२ मा अन्तर्राष्ट्रिय न्यायालयले प्रेह भिहेयर मन्दिरको स्वामित्व विवादमा कम्बोडियाका पक्षमा निर्णय गरेको थियो । 

सन् २००८ मा कम्बोडियाले यसलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गर्न खोजेपछि दुवै मुलुकबीच तनाव चर्कँदै आएको छ ।