थाइल्यान्ड र कम्बोडिया युद्धविरामका लागि सहमत

श्रावण १२, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
थाइल्यान्ड र कम्बोडिया युद्धविरामका लागि सहमत

काठमाडौं । थाइल्यान्ड र कम्बोडिया युद्धविरामका लागि सहमत भएका छन् । मलेसियाको पुत्रजयास्थित मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमको सरकारी निवासमा भएको शान्ति वार्तामा दुवै मुलुक तात्कालिक र नि:शर्त युद्धविराममा सहमत भएका हुन् ।

मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमको पहलमा भएको वार्तामा थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाइ र कम्बोडियाका प्रधानमन्त्री हुन मानेट सहभागी थिए । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले युद्ध नरोकिए व्यापार सम्झौता नगर्ने दबाब दिएपछि दुवै मुलक सहमतिमा पुगेका हुन् । 

युद्धविराम स्थानीय समयअनुसार आजै मध्यरातबाट लागू हुनेछ । वार्तापछि मलेसिया, कम्बोडिया र थाइल्यान्डका रक्षा तथा परराष्ट्रमन्त्रीहरूलाई युद्धविराम कार्यान्वयनका लागि विस्तृत संयन्त्र तयार गर्न आग्रह गरिएको छ । यस्तै दुवै मुलुकका सैन्य कमान्डरहरूबीच पनि अनौपचारिक वार्ता हुनेछ ।

रोयटर्सका अनुसार वार्तामा अमेरिका र चीनका राजदूतहरू उपस्थित थिए । वार्तापछि आयोजित पत्रकार सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले युद्धविरामले दुवै मुलुकका प्रभावितलाई सामान्य जीवनमा फर्कन अवसरहरू प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । यो समय दुवै मुलुकबीच विश्वास र भरोसा पुनःनिर्माण गर्दै अगाडि बढ्ने रहेको उहाँको भनाइ थियो ।

५ दिनदेखि जारी दुवै मुलुकबीचको झडपमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २ लाख ७० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।