गाजामा भोकमरी र कुपोषणबाट १५ जनाको मृत्यु

श्रावण ९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
गाजामा भोकमरी र कुपोषणबाट १५ जनाको मृत्यु

काठमाडौं । युद्धग्रस्त गाजा पट्टीमा पछिल्लो २४ घण्टामा भोकमरी र कुपोषणबाट चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ ।

गाजाका स्वास्थ्य अधिकारीहरूले गाजाभरका विभिन्न अस्पतालहरूमा यो मृत्यु रेकर्ड गरिएको बताएका हुन् । गत मार्चयता भोकमरी र कुपोषणकै कारण ८० बालबालिकासहित १ सय १ जनाको मृत्यु भएको छ । इजरायलका लगभग ९५ प्रतिशत डाक्टरहरूको प्रतिनिधित्व गर्ने इजरायली मेडिकल एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै गाजापट्टीमा चिकित्सा उपकरण र आधारभूत मानवीय सहायताको प्रवेशको लागि आह्वान गरेको छ ।

इजरायलले मार्च १८ मा एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः सुरू गरेदेखि कम्तिमा ८ हजार २ सय ६८ प्यालेस्टिनीहरू मारिएका छन् । ३० हजार ४ सय ७० जना घाइते भएका छन् । जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५९ हजार १ सय ६ पुगेको छ । घाइतेहरूको संख्या १ लाख ४२ हजार ५ सय ११ पुगेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।



सम्बन्धित