आगामी सेप्टेम्बरमा प्यालेष्टिनी राज्यलाई औपचारिक मान्यता दिने फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको घोषणा

फ्रान्सको कदम आत‌ंकलाई पुरस्कृत भएको इजरायली प्रधानमन्त्री नेतन्याहुको टिप्पणी
श्रावण ९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
आगामी सेप्टेम्बरमा प्यालेष्टिनी राज्यलाई औपचारिक मान्यता दिने फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको घोषणा

काठमाडौं । फ्रान्सले आगामी सेप्टेम्बरमा प्यालेष्टिनी राज्यलाई औपचारिक मान्यता दिने भएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले आगामी सेप्टेम्बरमा प्यालेष्टिनी राज्यलाई औपचारिक मान्यता दिने घोषणा गर्नुभएको हो । प्यालेष्टिनी राज्यलाई मान्यता दिने फ्रान्स पहिलो जी-सेभेन राष्ट्र हुनेछ।

प्यालेष्टिनी अधिकारीहरूले फ्रान्सको यो निर्णयको स्वागत गरेका छन् । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने यसले आतङ्कलाई पुरस्कृत गर्ने भन्दै आलोचना गर्नु भएको छ । यस्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले लापरवाहीपूर्ण कदम भन्दै आलोचना गर्नुभएको छ।

बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि पनि सांसदहरूले प्यालेष्टिनी राज्यलाई मान्यता दिन दबाब बढाइरहेको र यस सन्दर्भमा उहाँले फ्रान्स र जर्मनीका नेताहरूसँग फोन वार्ता गर्ने बताइएको छ ।

यसैबीच प्यालेस्टिनी शरणार्थीसम्बन्धी राष्ट्रसंघीय एजेन्सी उनर्वाले गाजामा सम्पूर्ण मानवीय प्रणाली ध्वस्त हुँदै गएको र भोकमरीका कारण मृत्यु हुनेहरूको संख्या बढ्दै गएको जनाएको छ।

उता हमासले सद्भावनापूर्ण व्यवहार नगरेको भन्दै अमेरिका र इजरायलले कतारमा भइरहेको गाजा युद्धविराम वार्ताबाट आफ्ना वार्ता टोलीहरू फिर्ता बोलाएका छन् ।