रुसको सुदूरपूर्वी क्षेत्रमा ५० जना सवार विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु भएको आशंका

जलिरहेको मुख्य भाग घना जंगलमा खसेको भेटियो
श्रावण ८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
रुसको सुदूरपूर्वी क्षेत्रमा ५० जना सवार विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु भएको आशंका

काठमाडौं । रूसको सुदूर पूर्वी क्षेत्रमा करिब ५० जना यात्रु सवार रहेको एन्तोनोभ एएन-२४ विमान दुर्घटनाग्रस्त भएको छ। प्रारम्भिक जानकारीअनुसार विमानमा सवार सबै यात्रुको मृत्यु भएको अनुमान गरिएको छ ।

सोभियतकालीन सो विमान करिब ५० वर्ष पुरानो रहेको र हेलिकोप्टरबाट हेर्दा त्यसको जलिरहेको मुख्य भाग घना जंगलमा खसेको देखिएको छ।

साइबेरियास्थित आंगारा एयरलाइन्सद्वारा सञ्चालित उक्त विमान सन् १९७६ मा निर्माण भएको बताइएको छ । ब्लागोभेश्चेन्स्क शहरबाट टिन्डा शहरतर्फ जाँदै गरेको सो विमान टिन्डा नजिकै पुग्दा राडार स्क्रिनबाट हराएको थियो ।

प्रारम्भिक जानकारीअनुसार विमानमा ५ बालबालिकासहित ४३ यात्रु र ६ चालक दल सदस्य गरी ४९ जना सवार थिए । तर आपतकालीन मन्त्रालयले भने उक्त विमानमा करिब ४० जना सवार रहेको उल्लेख गरेको छ ।

इन्टर्फ्याक्स समाचार एजेन्सीअनुसार विमानका टुक्राहरू टिन्डा शहरबाट करिब १५ किलोमिटर टाढा एक पहाडमा भेटिएका छन्। रूसी उड्डयन निकायको एमआइ ८ हेलिकोप्टरले विमानको भग्नावशेष भेटेको बताइएको छ। 

उद्दारकर्मीहरू घटनास्थल पुग्ने प्रयास गरिरहेको र अधिकारहरूले दुर्घटनाबारे औपचारिक अनुसन्धान सुरू गरेको जनाइएको छ ।