काठमाडौं । थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले थाइल्यान्ड र कम्बोडियाबीचको सशस्त्र झडप युद्धतर्फ उन्मुख हुन सक्ने चेतावनी दिनुभएको छ ।
थाइल्यान्ड र कम्बोडियाबीच सीमामा सुरू भएको सैन्य झडप दोस्रो दिन पनि जारी छ । हालसम्म १६ जना मारिएका छन् र दशौं हजार विस्थापित भएका छन् । थाइल्यान्डले आफ्नोतर्फ १४ सर्वसाधारण र एक सैनिक मारिएको जनाएको छ भने कम्बोडियाले कम्तिमा एक सर्वसाधारण मारिएको जनाएको छ ।
सीमावर्ती १२ क्षेत्रहरूमा झडप फैलिएको छ भने भारी मात्रामा हतियार प्रयोग गरिएका छन् । थाइल्यान्डले कम्बोडियामाथि नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको छ।
त्यस्तै कम्बोडियाले थाइल्यान्डले विश्वका धेरै देशहरूमा प्रतिबन्धित रहँदै आएको क्लष्टर बम प्रयोग गरेको आरोप लगाएको छ ।
अमेरिका, चीन, अस्ट्रेलिया, युरोपेली संघ र फ्रान्सलगायतले दुवैलाई संघर्ष रोक्न आह्वान गरेका छन्। यसै विषयमा छलफल गर्नु संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बस्ने तयारी छ । आसियानका अध्यक्षसमेत रहेका मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिमले दुई देशबीच वार्ता सहज बनाउन प्रस्ताव गर्नुभएको छ ।
थाइल्यान्डका विदेशमन्त्रीले भने तेस्रो पक्षको मध्यस्थताको आवश्यकता नभएको बताउनुभएको छ । दुवै देशबीचको यो विवाद एक सयवर्षभन्दा पनि पुरानो विवाद फ्रेञ्च उपनिवेशकालीन सीमा विवादसँग सम्बन्धित छ ।