अमेरिका र इण्डोनेसियाबीच नयाँ व्यापार सम्झौता, इण्डोनेसियाबाट आयात हुने वस्तुमा अमेरिकाले १९ प्रतिशत कर लगाउने

इण्डोनेशिया जाने वस्तुमा भने शुल्क नलाग्ने
असार ३२, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिका र इण्डोनेसियाबीच नयाँ व्यापार सम्झौता, इण्डोनेसियाबाट आयात हुने वस्तुमा अमेरिकाले १९ प्रतिशत कर लगाउने

काठमाडौं । अमेरिका र इण्डोनेशियाबीच नयाँ व्यापार सम्झौतामा सहमति भएको छ ।

सहमतिअनुसार अमेरिकाले इण्डोनेशियाबाट आयात हुने वस्तुमा १९ प्रतिशत आयात कर लगाउनेछ । यो राष्ट्रपति ट्रम्पले पहिले चेतावनी दिएकोभन्दा १३ प्रतिशतले कम हो । 

यसअघि अप्रिलमा ट्रम्पले इण्डोनेशियाबाट आयात हुने वस्तुमा ३२ प्रतिशत आयात कर लगाउने चेतावनी दिनुभएको थियो । ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमार्फत् यसको घोषणा गर्नु भएको थियो भने इण्डोनेशियाका राष्ट्रपति प्रबोओ सुबिआन्टोले पारस्परिक लाभको नयाँ युगको सुरूवात भन्दै यसको स्वागत गर्नुभएको छ । 

सम्झौताअनुसार अमेरिकाबाट इण्डोनेशिया आयात हुने वस्तुमा भने शुल्क नलाग्ने व्यवस्था छ। यसमा चीनबाट इन्डोनेसिया हुँदै अमेरिका निर्यात हुने सामानको गैरकानूनी ढुवानीका लागि दण्ड शुल्क र केही अमेरिकी सामान खरिद गर्ने प्रतिबद्धता पनि समावेश छ।

इन्डोनेसियाले अमेरिकाबाट १५ अर्ब डलर बराबरको ऊर्जा उत्पादन, साढे चार अर्ब डलर बराबरको कृषि उत्पादन र ५० वटा बोइङ जेट खरिद गर्न सहमति जनाएको छ । यद्यपि यसका लागि कुनै समयसीमा तोकिएको छैन।

इण्डोनेशिया अमेरिकाको २३औं प्रमुख व्यापार साझेदार देश हो । गतवर्ष अमेरिकाले इण्डोनेशियाबाट २८ अर्ब डलर बराबरको वस्तु आयात गरेको थियो भने १० अर्ब डलर बराबरको सामान निर्यात गरेको थियो ।