काठमाडौं । सुडानको मानवअधिकारवादी कानुन व्यवसायीको समूह इमरजेन्सी लयर्सले अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स आरएसएफले नर्थ कोर्डोफान राज्यका गाउँहरूमा आक्रमण गरी झन्डै ती सय मानिसको हत्या गरेको आरोप लगाएको छ । आरएसएफले गाउँहरूमा आक्रमण गर्नुका साथै घरहरूमा आगो लगाएको आरोप लागेको हो ।
आपतकालीन कानुन व्यवसायी समूहले जारी गरेको विज्ञप्तिमा आरएसएफको आक्रमणमा मारिनेमा बालबालिका र गर्भवती महिलासमेत रहेको उल्लेख छ । आरएसएफले बारा शहर छेउछाउका गाउँमा शनिबार आक्रमण गरेको हो ।
विज्ञप्तिमा शाग एल्नोम गाउँमा मात्रै दई सय जनाको नरसंहार गरिएको उल्लेख छ । मानिसलाई घरभित्रै आगो लगाएर वा गोली हानेर हत्या गरिएको बताइएको छ । छेउकै गाउँमा अन्य ३८ जनालाई मारिएको र दर्जनौंलाई बलपूवर्क वेपत्ता पारिएको विज्ञप्तिमा उल्लेख छ । त्यसको अर्को दिन अर्थात् आइतबार आरएसएफले हिलात हमिद गाउँमा कम्तिमा ४६ जनाको नरसंहार गरेको र यसरी मारिनेमा गर्भवती महिला र बालबालिकासमेत रहेको उक्त समूहले जनाएको छ ।
सुडानी सेना र आरएसएफबीच देशको पश्चिमी क्षेत्रमा भिडन्त चर्किएका बेला यो घटना भएको हो । सुडानी सेना र आरएसएफबीच २०२३ देखि गृहयुद्ध हुँदै आएको छ । सेनाले देशको मध्य र पूर्वी भाग आफनो नियन्त्रणमा राखेको छ भने आरएसएफले नर्थ कोर्डोफान र डार्फर सहित देशको पश्चिमी क्षेत्रमा आफनो नियन्त्रण बलियो बनाउने प्रयास गर्दै आएको छ ।
राष्ट्रसंघीय मानवअधिकार समूहले आरएसएफमाथि युद्ध अपराध, मानवताविरुद्धको अपराध र नरसंहारको आरोप लगाएको छ । उता आरएसफफको नेतृत्वले भने यस्तो गतिविधिमा संलग्नलाई दण्डित गरिने बताएको छ ।
सुडानमा जारी गृहयुद्धले विश्वको सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न गरेको छ । गृहयुद्धका कारण देशको आधाभन्दा बढी जनसङ्ख्या भोकमरीमा धकेलिएका छन् भने हैजाजस्ता महामारी फैलिएका छन् । गृहयुद्धमा कम्तिमा ४० हजार मानिस मारिएका छन् । झन्डै १ करोड ३० लाख मानिस विस्थापित भएका छन् । यसैबीच अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीले पश्चिमी डार्फर क्षेत्रमा भएको युद्ध अपराधका सम्बन्धमा नयाँ अनुसन्धान शुरु गरेको जनाइएको छ ।