इजरायलले गरेको हवाई आक्रमणमा इरानका राष्ट्रपति घाइते भएको खुलासा

इजरायलले हत्या प्रयास गरे पनि असफल भएको राष्ट्रपति मसूदको दाबी
असार २९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायलले गरेको हवाई आक्रमणमा इरानका राष्ट्रपति घाइते भएको खुलासा

काठमाडौं । इजरायलले गत महिना इरानमा गरेको हवाई आक्रमणका क्रममा राष्ट्रपति मसूद पेजेश्कियन सामान्य घाइते भएको इरानियन रिभोल्युसनरी गार्डसँग आबद्ध समाचार समिति-फार्सले जनाएको छ । उहाँको खुट्टामा चोट लागेको जनाइएको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठक भइरहेका बेला उक्त आक्रमण भएको थियो । जुन १६ मा पश्चिमी तेहरानस्थित एउटा भवनमा सुरक्षा परिषद्को बैठक भइरहेका बेला इजरायलले उक्त भवनमा क्षेप्यास्त्र आक्रमण गरेको थियो । उक्त बैठकमा राष्ट्रपति पेजेश्कियनका साथै संसद्‍का सभामुख मोहम्म्दा बघेर घालिबाफ, प्रधानन्यायाधीश मोहसेनी इजेइ र अन्य उच्च अधिकारीहरू सहभागी थिए । हिजबुल्लाहका प्रमुख हसन नसरुल्लाहको बेरुतमा हत्या गरिएको शैलीमा इजरायलले उक्त कारबाही गरेको फार्सले जनाएको छ । 

भवनमा भएका व्यक्तिहरुलाई बाहिर निस्किन नदिने र श्वास लिनका लागि वायु पनि प्रवेश हुन नदिने योजनाका साथ भवनको प्रवेश बिन्दु र निष्कासन बिन्दुलाई केन्द्रित गरी ६ वटा क्षेप्यास्त्र प्रहार गरिएको थियो । बैठक भवनको तल्लो तलामा भइरहेको थियो । विस्फोटपछि उक्त भवनको विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । यद्यपि उक्त कक्षमा पहिलेदेखि नै आपत्‌कालीन निकासद्वारको व्यवस्था रहेकाले सबै जना सुरक्षित बाहिर निस्किन सफल भएको समाचारमा जनाइएको छ । 

उक्त आक्रमणमा राष्ट्रपति पेजेश्कियनका साथै केही अन्य अधिकारीलाई पनि सामान्य चोट लागेको थियो । इरानी अधिकारीहरूले उक्त बैठकबारे इजरायललाई कुनै भित्रियाले सूचना दिएको हुन सक्ने सम्भावनाबारे जाँच गरिरहेको बताइएको छ ।

गत साता अमेरिकन राजनीतिक टिप्पणीकार टकर कार्लसनलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति पेजेश्कियनले इजरायलले आफ्नो हत्या गर्ने प्रयास गरेको तर असफल भएको बताउनुभएको थियो ।

इजरालयले इरानमाथि जुन १३ देखि आक्रमण सुरु गरेको थियो भने १२ दिनसम्म चलेको इजरायल-इरान सैन्य संघर्षमा इरानका उच्च सैन्य अधिकारी र वरिष्ठ परमाणु वैज्ञानिकहरू मारिएका थिए ।

यसअघिका रिपोर्टहरूमा १२ दिने युद्धका क्रममा इजरायलले सर्वोच्च नेता अयातोल्लाह अली खामेनेइको समेत हत्या गर्ने योजना बनाएको तर त्यसका लागि सही समय कहिल्यै नआएको जनाइएको थियो ।