इजरायली सेनाको आक्रमणमा गाजामा एकै दिन ११० प्यालेस्टिनी मारिए, गाजाका सहायता केन्द्रहरू मानव वधशाला बनेको राष्ट्र संघको भनाइ

असार २९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायली सेनाको आक्रमणमा गाजामा एकै दिन ११० प्यालेस्टिनी मारिए, गाजाका सहायता केन्द्रहरू मानव वधशाला बनेको राष्ट्र संघको भनाइ

काठमाडौं । इजरायली सेनाले गाजाका विभिन्न स्थानमा गरेको आक्रमणमा एकै दिन एक सय १० जना प्यालेस्टिनी मारिएका छन् । 

रफाहस्थित अमेरिकी समर्थनप्राप्त गाजा मानवीय सहायता केन्द्रमा खाना लिन उभिएका ३४ जनासमेत इजरायलको आक्रमणमा मारिएका छन् ।

रफाहको अल-शाकुश क्षेत्रस्थित सहायता केन्द्रको अगाडि इजरायली सेनाले भिडमा गोली चलाएको हो । संयुक्त राष्ट्रसंघ र मानवअधिकार समूहहरूले यस्ता सहायता केन्द्रलाई 'मानव वधस्थल' र 'मृत्युकुन्ज' भनेर चिन्ता व्यक्त गरेका छन् ।

अल जजिराकाअनुसार इजरायली सेनाले चेतावनीबिनै गोली चलाएको थियो । शनिबार गाजा सिटीमा १४ जना मारिएका छन् । उक्त आक्रमणमा १० जना घाइते भएका छन् ।

शनिबार नै उत्तरी गाजाको बेइट हानुन क्षेत्रमा इजरायलले करिब ४० पटक हवाई आक्रमण गरेको छ । त्यस्तै, गाजाको सरकारी सञ्चार कार्यालयले अहिलेसम्म कुपोषणका कारण ६७ बालबालिकाको मृत्यु भएको पुष्टि गरेको छ । पाँच वर्षमुनिका ६ लाख ५० हजार बालबालिका "निकै गम्भीर र तत्कालीन कुपोषणको जोखिममा" छन्।

संयुक्त राष्ट्रसंघको प्यालेस्टिनी शरणार्थीसम्बन्धी निकायका प्रमुख फिलिप लाजारिनीले इजरायलले गाजामा निर्दयी र षड्यन्त्रकारी योजनाअन्तर्गत हत्या गरिरहेको आरोप लगाउनुभएको छ । 

उहाँले आँखै अगाडि गाजा बालबालिका र भोकमरीले ग्रस्त जनताको चिहान बन्न पुगेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघका अनुसार, गाजा मानवीय सहायता केन्द्रले मे महिनामा आफ्ना सेवा सुर" गरेपछि सहायता लिन खोज्दा करिब ८ सय जना प्यालेस्टिनी मारिएका छन् ।