
धनकुटा । साहित्यकार झमक घिमिरेले यसपटक मतदान गर्न पाइनन् ।
उनको घरबाट सवारी साधनमा १० मिनेटको दूरीमा रहेको धनकुटा-६ को रामप्रसाद पोखरेल आँखा अस्पतालस्थित बहुउद्देश्यीय सामुदायिक भवन मतदान केन्द्रमा समेत उनी पुग्न सकिनन् । यसको मुख्य कारण उनको स्वास्थ्य अवस्था रहेको छ ।
पछिल्लो केही वर्षदेखि स्वास्थ्य समस्या जटिल बन्दै गएकाले उनी चिकित्सकको निगरानीमा धनकुटा-६ कचिंडेस्थित निवासमा आराम गरिरहेकी छिन् । चर्चित पुस्तक जीवन 'काँडा की फुल'ले मदन पुरस्कार विजेतासमेत रहेकी ४५ वर्षीया घिमिरेले मन भएर पनि स्वास्थ्यका कारण मतदान गर्न नसकेको लिखित प्रतिक्रिया दिइन् ।
हिँड्डुल गर्न नसक्ने हुनाले विगतमा पनि सवारी साधन र आफन्तको भरमा बोकिएर मतदान गर्दै आएकी थिइन् । उनले लिखित प्रतिक्रिया दिइन्, यसपटक भोट हाल्न सकिन् । हात खुट्टा समेत चल्न नसक्ने भए पनि घिमिरेले देब्रे खुटाको औंलाले मतपत्रमा आफैं स्वस्तिक छाप लगाउने गर्थिन्।
घिमिरेको आमा आशाकुमारी र बाबु कृष्णबहादुर समेत अपाङ्गता छन् । आमाको खुट्टामा समस्या छ भने बाबु ह्वील चियरको सहारामा छन् । यसपटकको निर्वाचनमा आमा आशाले मात्र अटोबाट मतदान केन्द्रसम्म पुगेर अपराह्न ३ बजे मतदान गरिन् । उनको साथमा झमकले मतदान गर्न जाने तयारीका साथ सवारी साधन मगाएपनि सम्भव नभएको बहिनी मौसमीले बताइन् । घिमिरेका डेढ दर्जन साहित्यिक पुस्तकहरू प्रकाशित छन् ।