काठमाडौ । अमेरिकाको संघीय न्यायलयले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई नवजात बच्चाहरूलाई अमेरिकी नागरिकता नदिने निर्णय कार्यान्वयन गर्नबाट रोक लगाएको छ।
संघीय जिल्ला न्यायाधीश जोसेफ लाप्लान्तेले न्यू ह्याम्पशायरको कन्कर्डमा भएको सुनुवाइमा यस्तो आदेश दिनुभएको हो । आप्रवासी अधिकारवादीहरूले ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने कार्यकारी आदेशविरुद्ध मुद्दा दायर गर्दै त्यसको असर पर्ने सबै शिशुहरूको तर्फबाट सामूहिक मुद्दा दायर गर्न माग गरेका थिए। न्यायाधीशको यो निर्णय ट्रम्पको आदेशमाथि चलिरहेको कानुनी लडाइँको अन्तिम निर्णय भने होइन। न्यायाधीशले यो आदेशमा सात दिनको रोक लगाएका हुन् । यो सात दिनमा ट्रम्प प्रशासनले पुनरावेदन गर्न सक्नेछ। सुनुवाइमा अमेरिकी न्याय विभागका एक वकिलले पुनरावेदन हुने पक्का भएको संकेत दिएका थिए।
रिपब्लिकन राष्ट्रपति जर्ज डब्ल्यू बुशले नियुक्त गरेका न्यायाधीश लाप्लान्तेले मुद्दा सामूहिक रूपमा अगाडि बढ्न सक्ने भन्दै राष्ट्रव्यापी रूपमा कार्यान्वयनमा रोक लगाउने आदेश दिन सकिने बताउनुभएको छ ।
अमेरिकन सिभिल लिबर्टीज युनियनका वकिलहरूले सर्वोच्च अदालतको जून २७ को ६-३ फैसलापछि राष्ट्रव्यापी आदेश रोकिएको जनाउँदै, वर्गगत मुद्दामार्फत राहत खोज्ने कानुनी अपवाद प्रयोग गर्न आग्रह गरेका थिए। सर्वोच्च अदालतको निर्णय अनुसार, अमेरिकी नागरिक वा स्थायी बासिन्दा नभएका अभिभावकका केही बच्चालाई जन्मसिद्ध नागरिकता नदिइने र उनीहरू निर्वासनको जोखिममा पर्ने अवस्था थियो।
यदि यो आदेश लागू भयो भने हरेक वर्ष १ लाख ५० हजारभन्दा बढी नवजात शिशुहरू अमेरिकी नागरिकताको अधिकारबाट वञ्चित हुने अनुमान गरिएको छ।