इजरायलले गाजामा गरेकाे पछिल्लाे आक्रमण कम्तिमा १५ जनाको मृत्यु

असार २६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायलले गाजामा गरेकाे पछिल्लाे आक्रमण कम्तिमा १५ जनाको मृत्यु

काठमाडौं । इजरायलले गाजाको एक स्वास्थ्य केन्द्रनजिकै गरेको आक्रमणमा पोषण सामग्री लिन लाम लागेका ८ बालबालिका र दुई महिलासहित कम्तिमा १५ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

डेइर अल बलाह शहरमा इजरायलले आक्रमण गरेको हो । अल अक्सा अस्पतालबाट प्राप्त भिडियोमा घाइते बालबालिका र अन्य नागरिकलाई उपचारका लागि लगिँदै गरेको दृश्य देख्न सकिन्छ ।

इजरायली सेनाले भने सो क्षेत्रमा रहेका हमास लडाकुलाई लक्ष्य बनाएर उक्त आक्रमण गरिएको दाबी गरेको छ । साथै उसले निर्दोष मानिसलाई क्षति पुगेकामा दुख व्यक्त गर्दै घटनाको समीक्षा गरिरहेको जनाएको छ ।

गाजाको अन्य स्थानहरूमा आज थप २६ जना मारिएका छन् । गाजा युद्धविराम र बन्धक रिहाइका सम्बन्धमा सहमतिका लागि दोहामा वार्ता भइरहेका बेला यो आक्रमण भएको हो । 

आइतबारदेखि वार्ता जारी रहे पनि इजरायल र हमासबीचको मतभेद अझै गहिरो रहेको देखिन्छ। सहमतिका लागि संयुक्त राज्य अमेरिका, कतार र इजिप्टले मध्यस्थता गरिरहे पनि हालसम्म स्पष्ट प्रगति देखिएको छैन।