रूसका पूर्व यातायात मन्त्री मृत अवस्थामा फेला

असार २४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
रूसका पूर्व यातायात मन्त्री मृत अवस्थामा फेला

काठमाडौं । रूसको अनुसन्धान समितिकाअनुसार पूर्व यातायात मन्त्री रोमान स्तारोभोइत मृत फेला परेका छन्। 

प्रारम्भिक रिपोर्टअनुसार उनको मृत्यु आत्महत्या जस्तो देखिएको र उनको शरीर नजिकै गोली लागेका दागहरू भेटिएको बताइएको छ।

यसै सोमबार राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई बर्खास्तीको कुनै कारण नदिई पदबाट बर्खास्त गरेका थिए भने उनलाई हटाएको केही समयमै उप-यातायात मन्त्री आन्द्रेइ निकितिनलाई नयाँ मन्त्रीको रूपमा नियुक्त गरिएको थियो।

अनुसन्धान समितिले घटनाको पूर्ण विवरण पत्ता लगाउने काम भइरहेको जनाएको छ। स्तारोभोइतलाई मे २०२४ मा यातायात मन्त्री नियुक्त गरिएको थियो। त्यसअघि उनले करिब छ वर्षसम्म कुर्स्क क्षेत्रका गभर्नरको रूपमा सेवा गरेका थिए। 

उक्त क्षेत्रलाई अगस्ट २०२४ मा युक्रेनी सेनाले आकस्मिक आक्रमणमार्फत अंशत: कब्जा गरेको थियो। रूसी सेनाले हालै मात्र ती क्षेत्रहरू पुन: आफ्नो नियन्त्रणमा ल्याएको दाबी गरे तापनि जुनको अन्त्यसम्म पनि युक्रेनले रूसभित्रको सानो क्षेत्र अझैं नियन्त्रणमा राखेको बताइएको छ।

स्तारोभोइतपछि नियुक्त भएका गभर्नर आलेक्सेइ स्मिर्नोभ पनि धेरै समय पदमा रहेनन्। उनलाई अप्रिलमा पक्राउ गरियो र युक्रेनसँगको सीमा क्षेत्रमा किल्लाबन्दी बनाउनका लागि छुट्याइएको रकम हिनामिना गरेको आरोप लाग्यो।

रूसी समाचार संस्थाकाअनुसार, स्तारोभोइतलाई पनि यही मुद्दामा अभियुक्त बनाउने तयारी भइरहेको थियो।