विनाशकारी बाढीले टेक्सासमा ज्यान गुमाउनेको संख्या एक सय पुग्यो, ११ जना अझैं बेपत्ता

केर काउन्टी बढी प्रभावित
असार २४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
विनाशकारी बाढीले टेक्सासमा ज्यान गुमाउनेको संख्या एक सय पुग्यो, ११ जना अझैं बेपत्ता

काठमाडौं । अमेरिकाको टेक्सासमा आएको विनाशकारी बाढीले गर्दा कम्तीमा १०० जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता छन्। 

जुलाई ४ को सप्ताहन्तमा आएको भीषण वर्षापछि यो विपत्ती आएको हो। सबैभन्दा बढी प्रभावित क्षेत्र केर काउन्टीमा मात्र ८४ जनाको मृत्यु पुष्टि भएको छ।

बचाउ टोलीहरू लगातार चौथो दिन पनि जीवित र मृतकको खोजीमा खटिएका छन्। सबैभन्दा दुःखद घटना ग्वाडालुपे नदी किनारमा रहेको 'क्याम्प मिस्टिक' नामक बालिका ग्रीष्मकालीन शिविरमा भएको हो । जहाँ २७ बालिका र स्टाफको ज्यान गएको पुष्टि गरिएको छ। अझैं पनि १० जना बालिका र एक जना परामर्शदाता वेपत्ता छन्।

अधिकारीहरूकाअनुसार ग्वाडालुपे नदी दुई घण्टाभित्रै २० फिटभन्दा बढी बढेको थियो । जसले धेरैलाई पूर्व चेतावनी विनानै समातेको थियो। बाढीको पूर्वसूचना पर्याप्त थिएन भन्ने प्रश्नहरू उठेका छन्।

यस क्षेत्रमा थप वर्षा र गर्जनसहितको मौसम पूर्वानुमान गरिएको छ। राष्ट्रिय मौसम सेवाअनुसार अझैं २ देखि ४ इञ्चसम्म वर्षा हुन सक्नेछ र केही ठाउँमा १० इञ्चसम्म पानी पर्न सक्ने सम्भावना रहेको बताइएको छ । करिब ५० लाख मानिस बाढीको उच्च जोखिममा छन् भने र बाढी सम्बन्धी चेतावनी अझैं जारी छ ।

यसैबीच, राष्ट्रपति डनल्ड ट्रम्पले यस हप्ताको अन्त्यतिर बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने तयारी गरिरहनु भएको छ, जहाँ उहाँले स्थानीय अधिकारी, उद्धारकर्मी र प्रभावित परिवारहरूसँग भेट गर्नुहुनेछ।

सुरक्षाका दृष्टिकोणले, अधिकारीहरूले सबैलाई सचेत रहन, मौसम विभागका सूचनाहरू पालना गर्न र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।