काठमाडौं । युद्धविरामका लागि मध्यस्थकर्ता देशहरू इजिप्ट, कतार र अमेरिकाले प्रयास गरिरहँदा इजरायलले भने प्यालेस्टिनीहरूलाई उत्तरी गाजाका केही क्षेत्र छाड्न आदेश दिएको छ । हमासविरूद्ध कारबाही तीव्र पार्न लागेको भन्दै इजरायली सेनाले सो क्षेत्र खाली गर्न आइतबार आदेश जारी गरेको हो ।
यसअघि अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले आइतबार बिहानै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत गाजा युद्ध अन्त्य र बन्धक रिहाइको आह्वान गर्नुभएको थियो । ट्रम्पले ‘गाजामा सम्झौता गर र बन्धक फिर्ता ल्याऊ’ भन्दै पोस्ट गर्नुभएको थियो ।
यसैबीच रोयटर्सका अनुसार हमासका एक अधिकारीले युद्धविराम वार्ता पुनः सुरू गर्न तयार रहेको खबर मध्यस्थकर्ता देशलाई दिइसकेका छन् । यद्यपि, युद्ध अन्त्य र इजरायली सेना फिर्ती सुनिश्चित गरिनुपर्ने माग यथावत् नै रहेको ती अधिकारीले स्पष्ट पारेका छन् ।
इजरायलले भने हमासले हतियार त्यागेर विघटनमा गए मात्र युद्ध अन्त्य हुन सक्ने बताउँदै आएको छ । हमासले हतियार बिसाउन अस्वीकार गर्दै आएको छ ।
उता इजरायलमा हमासको नियन्त्रणमा रहेका बन्धकको रिहाइको माग गर्दै प्रदर्शन भइरहेका छन् । हमासको नियन्त्रणमा अझै ५० बन्धक रहेको र तीमध्ये २२ जना मात्र जीवित रहेको इजरायली सेनाको आकलन छ ।
इजरायल र इरानबीचको युद्धविरामपछि इजरायल गाजा द्वन्द्व अन्त्यको माग र आशाले नयाँ गति लिएको हो । इजरायल इरान युद्धविराम यता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि थुप्रै पटक गाजामा छिट्टै युद्धविराम हुन सक्ने बताउँदै आउनुभएको छ ।