राष्ट्रपतिको आदेशमा रोक लगाउने तल्ला अदालतको अधिकार सीमित बनाउने सर्वोच्चको फैसला

कानुनी शासनको जित भएको ट्रम्पको भनाइ
असार १४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
राष्ट्रपतिको आदेशमा रोक लगाउने तल्ला अदालतको अधिकार सीमित बनाउने सर्वोच्चको फैसला

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले तल्ला अदालतहरूलाई राष्ट्रपतिका कार्यकारी आदेशहरू रोक्नसक्ने शक्ति सीमित बनाउने आदेश दिएको छ । 

यसले राष्ट्रपति डनल्ड ट्रम्पलाई ठूलो कानुनी जित दिएको छ। सर्वोच्चको आदेशलाई ट्रम्पले संविधान र कानुनी शासनका लागि 'ऐतिहासिक विजय' भनेर टिप्पणी गर्नुभएको छ ।

यो फैसलाले अमेरिकी भूमिमा जन्मिएका सबैलाई स्वत: नागरिकता नदिने नीति लागू गर्ने ट्रम्पको विवादास्पद योजनाको लागि बाटो खुला गर्छ। तर यसको कार्यान्वयनमा कानुनी र प्राविधिक चुनौतीहरू आउनसक्ने बताइएको छ। 

उक्त निर्णयले आप्रवासन सुधार, वैदेशिक सहायता कटौतीजस्ता ट्रम्पले कार्यकारी आदेश दिएका तर अदालतले रोकिदिएका नीतिहरूलाई अगाडि बढाउने क्षमतालाई पनि बलियो बनाउँछ। 

यद्यपि, अदालतहरूले राष्ट्रपतिको अवैध कदमहरू रोक्न भने अझै सक्नेछन् । फैसलाले वर्तमान र भविष्यका राष्ट्रपतिहरूलाई उच्च अदालतसम्म मुद्दा नपुगेसम्म केही समय आफ्नो निर्णय अगाडि बढाउन सहयोग गर्नेछ।