काठमाडौं । इजरायली सैनिकलाई गाजामा अमेरिकी र इजरायल समर्थित गाजा ह्युम्यानिटेरियन एड जिएचएपद्वारा सञ्चालित राहत वितरण केन्द्रहरूमा खाना खोज्दै आएका निहत्था प्यालेस्टिनीहरूमाथि गोली चलाउन आदेश दिइएको इजरायली समाचार संस्था हारेट्जले दाबी गरेको छ ।
यस क्रममा हालसम्म कम्तीमा ५ सय ४९ प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् । केही इजरायली सैनिकले भिड नियन्त्रणका लागि ठाडो आदेशमा मेसिनगन र ग्रिनेड प्रयोग गरेको स्वीकार गरिरहँदा सैन्य प्रमुखले यसलाई अस्वीकार गर्दै अनुसन्धान गर्ने वाचा गरेका छन् ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजराइल काट्जले रिपोर्टलाई अपवाद भन्दै इजरायली डिफेन्स फोर्सका सैनिकहरूलाई निर्दोष नागरिकहरूलाई हानी नगर्न कडा आदेश दिइने दाबी गर्नुभएको छ ।
इजरायली आक्रमणले अन्तर्राष्ट्रिय आक्रोश बढाइरहेका बेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जवाफदेहिता माग गर्नुभएको छ । २०२३ अक्टोबरदेखि सुरु भएको युद्धमा दशौं हजार प्यालेस्टिनी मारिइसकेका छन्।
गाजका नागरिकलाई भोकले मर्नु वा राहत खोज्दा मर्नु-यी दुईमध्ये एक रोज्नुपर्ने अवस्था आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।